जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई पक्राउ गरेको छ।
नवलपरासीको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित बुधबार दुई जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्तिहरू सँगको सोधपुछमा उनीहरूले नक्कली नोट छाप्ने मेसिन समेत राखेको बताएपछि बिहीबार मेसिन बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा तनहुँ ऋषिङ गाउँपालिका ३ बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विश्वकर्मा छन्।
पक्राउ परेकाहरूको बयानको आधारमा बुटवलको अन्नपूर्ण खाना तथा खाजा घरबाट मेसिन बरामद भएकोे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
१ हजार दरका नक्कली नोटसहित पक्राउ परेका उनीहरूबाट नोट बनाउनका लागि प्रयोग हुने कागज, स्ट्याम्प प्याड, स्केल लगायतका सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मोबाइल फोन बन्द गरेर वाट्स एपबाट कुराकानी गर्दै आएका उनीहरूलाई महिला प्रहरीमार्फत् हनी-ट्र्यापमा पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका उनीहरू चाडपर्वको मौका पारेर नेपाल आएको प्रहरीले जनाएको छ।
यसैबीच नक्कली नोट बनाउने गिरोह नै रहेको प्रहरीले जनाएको छ। बुधबार नै उनीहरूकै समूहमध्येका २ जना तनहुँमा पक्राउ परेको प्रहरी उपरीक्षक आचार्यले बताए।
अनुसन्धानमा अहिलेसम्म ४ जना रहेको पाइएको उनले बताए। नक्कली नोट बजारमा साटेर सक्कली लिनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका बजार क्षेत्रलाई लक्षित गरेर उनीहरू दुई समूहमा विभाजन भएको प्रहरीले जनाएको छ।
उक्त गिरोहले एक हजारको नक्कली नोट दिएर पसलबाट १ सयको सामान किन्ने र ९ सय सक्कली नोट लिँदै हिँड्ने गरेको प्रहरी उपरीक्षक आचार्यले बताए। पक्राउ परेकाहरूलाई मुद्रासम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।