बाथ रोग यही कारणले लाग्छ भनेर पत्ता लागेको छैन। वंशाणुगत हुन सक्छ, उमेर बढे अनुसार हुन सक्छ अनि कतिपय वातावरणीय कारणले पनि बाथ रोग हुन्छ। कुनै पनि रोग र संक्रमणले इम्युन सिस्टमलाई असर गर्यो भने पनि बाथ रोग हुन सक्छ।
बाथ रोग लागेको थाहा पाउन यसका लक्षण बुझ्न जरूरी छ। जोर्नी दुख्ने, जोर्नी सुन्निने, आरामको समयमा दुख्ने, बिहान उठ्दा कक्रक्क पर्ने भयो भने बाथ रोगको लक्षण हुन सक्छ। यस्तो बेला बारम्बार ज्वरो आउने, घाममा जाँदा अनुहार रातो हुने, मुखमा घाउ आउने, औंलाहरू निलो सेतो हुने, कपाल झर्ने लगायतका लक्षण देखिन्छन्।
बाथ रोग धेरै प्रकारका हुन्छन्। यसले कुनै पनि अंगमा हानी नोक्सानी पुर्याउन सक्छ।
पहिला त लक्षणका आधारमा कुन बाथ रोग हो भन्ने पत्ता लगाउनुपर्छ। त्यसपछि मात्रै यसको उपचार हुन्छ। हामी धेरैले बाथ रोगलाई लापरबाही गरेका हुन्छौं। कतिले त मलाई किन सानो उमेरमा देखियो भनेर प्रश्न गर्छन्। बाथ रोग जुनसुकै उमेरमा समेत देखिन सक्छ भनेर बुझ्न जरूरी छ।
जब इम्युन सिस्टमले आफ्नो शरीरलाई नचिनेर शरीरलाई हानी पुर्याउन थाल्छ त्यसपछि बाथ रोग हुने हो। यसलाई अटो इम्युन रोग समेत भनिन्छ।
कतिलाई त बाथ रोगको उपचार छैन भन्ने लाग्छ। यसलाई पूर्ण रूपमा निको पार्न नसके पनि नियन्त्रण गर्न भने सकिन्छ।
बाथ रोगको घरेलु उपचारको नाममा गलत काम भइरहेको छ। आयुर्वेद औषधी पनि राम्रो हुन्छ। तर कतिपय बिरामीले कागजमा पोको पारेको धुलो खाइरहेका हुन्छन्। त्यसको कुनै नाम समेत हुँदैन। बिरामीले आयुर्वेदिक औषधी खाएको बताउँछन्। कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधी (पेन किलर) को धुलो दिएको पाइएको छ। बिरामीले कहाँबाट ल्याएको भन्दैनन्।तर यो धुलोले निको बनाउँछ, ऊर्जा दिन्छ भन्छन्। हामीले पनि पेन किलर नदिने होइन। हामीले मात्रा मिलाएर निश्चित समयको लागि दिएका हुन्छौं।
आज १२ अक्टोबर अर्थात् विश्व बाथ रोग दिवस हो। यो दिवस संसारभरी मनाइनुको कारण बाथ रोगबारे सचेतना फैलाउन हो। बाथ रोगको कुनै पनि शंका लाग्यो भने परीक्षण गर्न जरूरी छ।यस्तो गर्न सकेमा यसलाई नियन्त्रण गर्न सकिन्छ।
(बाथरोग विशेषज्ञ डा.अभिलाषा शाह नर्भिक अस्पताल र अल्का अस्पतालमा कार्यरत छन्।)