कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट मनसुन बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार साँझसम्म कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशमा पश्चिमी भूभागबाट मनसनु बाहिरिएको हो।
सुदूरपश्चिमबाट असोज ६ गते मनसुन बाहिरिसकेको छ। अन्य भूभागबाट मनसुन बाहिरिन केही दिन लाग्ने महाशाखाले जनाएको छ।
पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ।
नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते)मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ। तर यसपालि पाँच दिन ढिला गरी सदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको थियो।
कुनै वर्ष देशभरबाट एकसाथ मनसुन बाहिरिएको भएपनि यसपालि आजको मितिसम्म सुदूरपश्चिम, कर्णाली लुम्बिनी पश्चिमी भूभागबाहेक अन्य स्थानबाट बाहिरिएको छैन।
देशैभरीबाट कहिलेसम्म बाहिरिन्छ भन्नेबारे महाशाखाले अध्ययन अनुगमन गरिरहेको जानकारी दिएको छ।
मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। अन्य भूभागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
नेपालका पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा राति पनि मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।