दसैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले उपत्यकासहित विभिन्न ४२ जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
सुपथ मूल्य पसलमा सबै प्रकारका खाद्यान्नदेखि एलपिजी ग्याँससम्मका उपभोग्य सामान पाइने व्यवस्था गरिएको छ।
आफूलाई आवश्यक सामानको सूची पसलमा खटिएका कर्मचारीहरूलाई दिएपछि सूचीअनुसारको सामान र परिमाण कर्मचारीहरूले नै उपलब्ध गराउँछन्।
उपभोक्ताले मूल्य सूची अनुसार पैसा तिरेर आफूलाई आवश्यक सामान ल्याउन सक्छन्। काउन्टरमा पैसा लिन पनि कर्मचारी खटाइएको हुन्छ।
चाडवाडमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष सरकारले देशभर सुपथ मूल्य पसल सञ्चालन गर्छ।
सुपथ मूल्य पसलमा खाद्य वस्तुमा केही छुट दिइएको हुन्छ।
यसपालि चामलमा प्रतिकिलो ७ रूपैयाँदेखि २५ रूपैयाँसम्म छुट दिइएको छ। दालमा प्रतिकिलो ७ रूपैयाँ, कर्णालीको सिमी प्रतिकिलो १० रूपैयाँ, चिउरा ७ रूपैयाँ,डिडिसी घ्यु २० रूपैयाँ छुट दिइएको छ।
ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ।
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार, साल्ट ट्रेडिङलाई एक करोड छुट्याएको छ।
तस्बिरमा हेर्नुस् खाद्य संस्थान कालीमाटीमाको सुपथ मूल्य पसलः