काभ्रेमा एक जना पुरूषको हत्या गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
आइतबार बिहान ७:५० बजे भक्तपुर-काभ्रे सिमाना पर्ने बनेपा नगरपालिका-१ नालाको प्लटिङमा सिन्धुली मरिण गाउँपालिका-५ घर भई हाल बनेपामा बस्ने ५५ वर्षीय दुधलाल थिङको शव फेला परेको थियो।
उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-८ का २१ वर्षीय समिर राय र काभ्रे बनेपा नगरपालिका-१ का २२ वर्षीय इश्वर विक छन्।
उनीहरूलाई प्रहरी चौकी नालाको टोलीले पक्राउ गरेको हो।
थिङको शरीरमा चोटपटक देखेपछि प्रहरीले हत्या भएको शंका गरी अनुसन्धान अगाडि बढाएको थियो।
जिल्ला प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा थिङसँग घटनास्थलमा भेट भई विवाद हुँदा रिसको आवेगमा कुटपिट गरेर भागेको स्वीकार गरेका छन्।
उनीहरूले हत्या गरेको स्वीकार गरेकाले मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।