सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौंदेखि बेहाल छ।
जीर्ण अवस्थामा रहेको सय वर्ष पुरानो राणाकालीन भवनको सम्पूर्ण ढोका बन्द छ। उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै बनेको छ। भवनका पर्खालमा झार उम्रेका छन्, झ्यालका सिसाहरू फुटेका छन् भने फर्निचरहरू छरपस्ट छन्।
सुरक्षा चुनौतीका कारण उक्त भवनभित्र छिर्न कसैलाई पनि अनुमति छैन। ऐतिहासिक महत्व बोकेको भवनको पुनर्निर्माण हुन नसक्दा यो झनै जीर्ण बन्दै गइरहेको छ।
वि.सं. २०१५ सालमा पहिलो संसद बैठक बसेको यो भवन नेपालको ऐतिहासिक सम्पदा समेत हो। यही भवनमा अन्तिम पटक माओवादीसहितको व्यवस्थापिका बैठक पनि बसेको थियो।
०६४ सालको चुनावबाट ६०१ जना सभासदहरू चुनिए। ६०१ जना सभासद भएसँगै यो भवन साँघुरो भएपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर सरकारले संसद भवनको रूपमा प्रयोग गर्न थालेको हो।
यो भवन राणाकालीन कलाकृतिहरूले भरिपूर्ण छ। नेपालकै ऐतिहासिक भवनलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गरी पुनर्निमाण गर्नुपर्ने देखिन्छ। यसमा सरोकारवालाहरूको ध्यान जान जरूरी छ।
तस्बिरहरू: