तस्करीको ६० किलो सुन प्रकरणमा संलग्न पाँच विदेशीहरूले नेपाली नागरिकता लिएको खुलेको छ।
हङकङका एलेक्स भन्ने याओ पुचेङले काभ्रेबाट तेन्जिङ सोनाम तामाङको नामबाट नागरिकता लिएका छन्।
चीनका साउतेन भन्ने सेग फा डिङले काभ्रेबाटै राम लामाको नामबाट नागरिकता लिएका छन्।
ताइवान अलि वा ली भन्ने वेन सुङ लिले काठमाडौंबाट छिरिङ लामाको नामबाट नागरिकता लिएका छन्।
नेङ्काइ लि स्टेफ्सले काभ्रेबाट सोनाम लामाको नामबाट नागरिकता लिएका छन्।
दावा छिरिङ भन्ने बेल्जियमका नागरिकले काभ्रेबाट दाबा छिरिङकै नाममा नागरिकता लिएका छन्।
पाँचै जनाले नेपाली नागरिकताका आधारमा पासपोर्ट पनि बनाइसकेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सिआइबीले उनीहरूलाई नागरिकता दिलाउन सहयोग गर्ने मानिसहरूको नाम पहिचान भई खोजी कार्य जारी रहेको बताएको छ।
त्यस्तै, तस्करहरूले सात वटा कम्पनीमार्फत विदेशबाट सुन तस्करी गरेर ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पत्ता लगाएको छ।
त्रिभुवन विमानस्थल बाहिर साउन २ गते बरामद भएको तस्करीको ६० किलो सुनबारे ३५ दिन लामो अनुसन्धानका क्रममा सिआइबीले सात वटा कम्पनीमार्फत् तस्करहरूले सुन नेपाल ल्याउने गरेको भेटाएको हो।
ती कम्पनी हुन्:
- बाँसबारीस्थित लेखनाथ कार्की सञ्चालक रहेको छुङगाक इलेक्ट्रिक सप्लायर्स,
- चाबहिल (गोपिकृष्ण पारी) स्थित रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स,
- सामाखुसीस्थित कुमारबहादुर भुजेल सञ्चालक रहेको ह्वाडा इलेक्ट्रिक सप्लायर्स,
- बाँसबारीस्थित रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स,
- लाजिम्पाट र हात्तीगौंडामा रहेका विकेन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स,
- बालुवाटारस्थित दिलिप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि,
- बुढानिलकण्ठस्थित सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स।
औपचारिकताका लागि उनीहरूले विभिन्न बस्तुहरू आयात गर्ने गर्थे। ब्रेकप्याड, सेभर, स्मार्ट वाच लगायतका विद्युतीय सामग्री आयात गर्ने र तिनमै लुकाएर सुन ल्याउने गरेको सिआइबीको दाबी छ।
टासी भन्ने थाप्तेन छिरिङले हर्कराज राईमार्फत् यी सञ्चालक र कम्पनी खडा गरेको सिआइबीको दाबी छ। यी कम्पनीको नाममा रहेका सटरहरू छिरिङ र राईले रेखदेख गर्दै आएका थिए।
यी सात वटा कम्पनीमार्फत् ल्याएको सुन तस्करहरूले काठमाडौं उपत्यकामा रहेका दुई गोदाममा लगेर पगाल्थे। सिआइबीका अनुसार ती दुई गोदाम टोखा र लाजिम्पाटमा छन्। ती दुवै गोदाममा सुन पगालेर रिप्याकिङ गर्ने काम हुन्थ्यो।
पक्राउ परेका ३२ जनालाई तस्करी गरेको सुन व्यवस्थापन गर्न काम बाँडफाँट गरिएको सिआइबीले जनाएको छ।
विमानस्थल भन्सार कार्यालयका ८ कर्मचारी, ४ भन्सार एजेन्ट, ३ कार्जो एजेन्ट, ट्याक्सी चालक एक, भाषा अनुवादक र कोठा खोज्ने व्यक्ति १, कम्पनी खडा गर्ने र माल बस्तु व्यवस्थापन गर्ने २ र सुन कारोबार गर्ने ११ जना संलग्न थिए।
यीमध्ये ६ जनालाई सिआइबीले मुद्दा चलाउन नपर्ने भनेर सरकारी वकिललाई सुझाव दिएको छ।
६० केजी सुन प्रकरणमा सिआइबीले प्रतिवादी बनाएका ५० जनामध्ये १८ जना भने फरार छन्। पक्राउ पर्नेमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेश र ४ जना नेपाली नागरिक छन्।
फरार हुनेमा माओवादी उच्च नेताहरूसँग सम्बन्ध भएको भनिएकी अमला रोक्का मगर पनि छन्। अमलाका श्रीमान् चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेको छ। यो प्रकरणमा अहिलेसम्म पक्राउ परेकामध्ये उनको मुख्य भूमिका रहेको देखिएको प्रहरीले जनाएको छ।
एआइजी किरण बज्राचार्यका अनुसार यो सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध देखिएको छ। यसमा नेपाली, भारतीय र चिनियाँ नागरिक संलग्न छन्।
त्रिभुवन विमानस्थलबाट तस्करी भएको ६० किलो सुनको प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबीसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।
‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडी ट्रेड कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’
यो तस्करीमा संलग्न रहेकाहरूले यसअघि नै ३६२ किलो सुन तस्करी गरेको खुलेको बज्राचार्यले जानकारी दिइन्।
बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्। सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
यी पनि:
६० किलो सुन प्रकरणका अभियुक्तलाई ल्याइयो सरकारी वकिलको कार्यालयमा (तस्बिरहरू)
६० किलो सुन प्रकरणमा ३ अर्ब ५० करोड बिगो दाबी
६० किलो सुन प्रकरणमा प्रयोग भएका सामान (तस्बिरहरू)
६० किलो सुन ल्याउनेले पहिला नै ३०२ किलो सुन तस्करी गरेको देखियो: सिआइबी
सात कम्पनीले ल्याउँथे, दुइटा गोदाममा गालिन्थ्यो तस्करीको सुन