सिन्धुपाल्चोकको जुरेमा पुनः पहिरो गएको छ।
बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिकाको सिमानामा पर्ने त्यस ठाउँमा सोमबार बिहान सुख्खा पहिरो खसेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।
‘आज बिहान पहिरो खसेको हो। अरू कुनै प्रकारको क्षति भएको छैन,’ उनले भने।
उनकाअनुसार सोमबार बिहान मध्यम खालको वर्षा भएको थियो। तर, पहिरो आएको बेला भने वर्षा रोकिइसकेको उनले बताए।
त्यस ठाउँमा २०७१ साउन १७ गते पनि पहिरो गएको थियो। साविक राम्चे र मांखा गाविसको सिमानामा पर्ने इटनीको भीर खस्दा सुनकोशी नदी १८ घन्टा थुनिएको थियो। सुनकोशी थुनिएर जलाशय बन्दा सानिमा हाइड्रोपावर र सुनकोशी हाइड्रोपावरको ड्यामसमेत डुबेको थियो।
जुरेको त्यस पहिरोमा एउटा गाउँ नै परेको थियो। पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भएको थियो। पहिरोमा बेपत्ता भएका १ सय २३ जना नभेटिएपछि सरकारले सबैलाई मृत घोषणा गरेको थियो।
आज बिहान पनि घुलोको मुस्लोसहित ढिस्को झरेपछि स्थानीयबासी बाहिर निस्किएका थिए। यसपटक जुरेभन्दा माथिको ढिस्को झरेको स्थानीयले बताएका छन्।