ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ। उक्त आकाशे पुल अपांगतामैत्री हुनेछ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो।
ललितपुर महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्ष अघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो। आठ मिटरभन्दा बढीको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन।
ललितपुर महानगर केही दिनभित्र आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने जनाएको छ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए।
‘उक्त स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ, गएको एक वर्षमा छ, सात जनाको ज्यान गइसक्यो,’ उनले भने|
कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा पुल निर्माण गरिनेछ।
शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ। यो ग्लास पारदर्शी हुन्छ।
महानगर प्रमुख महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरेका छन्।
‘आकाशे पुल त धेरै छन् तर ती पुलहरु अपाङ्गतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैन, बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन् , पुल चढेपछि थकाइ लाग्छ,’ उनले भने, ‘यो पुलबाट सडक वारपार गर्दा थकाइ लाग्दैन। ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमूना आकाशे पुल हुन्छ।’
पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने स्पष्ट पारे।
उनका अनुसार करिब ४ करोड बराबरको लागत अनुमानमा पुल निर्माण हुनेछ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए।