भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरूलाई अनुसन्धानका दायरामा ल्याउन माग गर्दै बृहत् नागरिक आन्दोलनले सरकारलाई खबरदारी गरेको छ।
शनिबार दिउँसो काठमाडौंको भद्रकालीमा नागरिक आन्दोलनले खबरदारी कार्यक्रम गरेको हो।
उनीहरूले सरकारले चलाएको भ्रष्टाचारविरूद्धको अभियानमा चयनात्मक अनुसन्धान र अभियोजन भएको स्पष्ट संकेत देखिएको बताउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
चर्चित तीन प्रकरण ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा नाम मुछिएका सत्तापक्षका दलका नेताहरूलाई छानबिनको दायरामा नल्याएर सरकारले चयानात्मक अभियोजन मात्र गरेको नागरिक आन्दोलनको धारणा छ।
ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वयलाई छानबिनको दायरामा नल्याई साक्षीको रूपमा राखिनु, भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरजु राणा देउवा र रामबहादुर थापा 'बादल' र सुन प्रकरणमा मुछिएका कृष्ण बहादुर महरालाई अनुसन्धानको दायरामा नल्याउनु खेदजनक रहेको उनीहरूले बताएका छन्।
त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको एआइजीलाई सुनियोजित रूपमा सरूवा गरी सरकारले विधिको शासनविपरीत रहेको र यस्ता विषयमा बृहत् नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनीहरूले भ्रष्टाचारका सबै प्रकरणको छानबिन र अनुसन्धान निष्पक्ष हुनुपर्ने र यसमा मुछिएकाहरूको राजनीतिक पृष्ठभूमि नहेरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन्।
तस्बिरहरू:
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/1-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/3-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/4-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/5-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/6-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/7-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/11-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/12-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/13-ink.jpeg)
![](https://www.setopati.com/uploads/editor/0000/nagarik%20andolan/14-ink.jpeg)