बिरामीले एन्टिबायोटिक्सको मात्रा पूरा नगरेमा वा अत्यधिक प्रयोग गरेमा कालान्तरमा एन्टिबायोटिक्सविरूद्ध ‘प्रतिरोधी क्षमता’ अर्थात् ‘एन्टिबायोटिक्स रेसिस्टेन्स’ विकसित हुन सक्छ।
विगतमा निमोनिया, क्षयरोग, गोनोरिया र साल्मोनेलोसिस जस्ता बढ्दै आएका संक्रामक रोगको उपचारमा प्रयोग गरिने एन्टिबायोटिक्स कम प्रभावकारी हुन थालेपछि तिनको उपचार गर्न जटिल बन्दै गएको छ।
एन्टिबायोटिक्स प्रतिरोधी क्षमताका कारण बिरामीको अस्पताल बसाइ लम्बिनुका साथै चिकित्सा खर्च र मृत्युदरमा अत्यधिक वृद्धि भएको पाइन्छ।
एन्टिबायोटिक्सका पुस्ता (जेनरेसन) के हुन्?
सबभन्दा पहिले, एन्टिबायोटिक्सका पुस्ताका बारेमा बताउने क्रममा भ्रममुक्त हुन जरूरी छ। कम्प्युटर र मोबाइलको वर्गीकरण गरेजस्तो एन्टिबायोटिक्समा जति नयाँ पुस्ता, सबै अवस्थामा उति प्रभावकारी भन्ने हुँदैन।
एन्टिबायोटिक्स मुख्यतया ८ प्रकारका हुन्छन्।
- पेनिसिलिन
- सेफलोस्पोरिन्स
- सुल्फोनोमाइड्स
- म्याक्रोलाइड्स
- टेट्रासाइक्लिन्स
- अमिनोग्लाइकोसाइड्स
- कार्बेपनम
- फ्लुओरोक्वाइनोलिन्स
ब्याक्टेरियासँग लड्न सबभन्दा प्रभावकारी र दायराका आधारमा एन्टिबायोटिक्सको वर्गीकरण गरिएको हुन्छ। यी वर्गलाई पुस्ता अर्थात् 'जेनरेसन' भनिन्छ। प्रत्येक पुस्ता विभिन्न प्रकारका ब्याक्टेरियाविरूद्ध प्रभावकारी हुन्छ।
ब्याक्टेरिया मूलतः दुई प्रकारका हुन्छन्- ग्राम पोजेटिभ र ग्राम नेगेटिभ।
सहजै उपचार हुने मानिने संक्रमणको उपचारका लागि सेफलोस्पोरिन्स एन्टिबायोटिक्स प्रभावकारी हुन्छ भने पछिल्लो पुस्ताका एन्टिबायोटिक्स गम्भीर संक्रमणको उपचारका लागि प्रभावकारी हुन्छन्।
पहिलो पुस्ताका एन्टिबायोटिक्स ग्राम पोजेटिभ ब्याक्टेरिया र केही प्रकारका ग्राम नेगेटिभ ब्याक्टेरियाविरूद्ध प्रभावकारी हुन्छन्।
दोस्रो पुस्ताका एन्टिबायोटिक्स ग्राम पोजेटिभ र ग्राम नेगेटिभ दुवैविरूद्ध प्रभावकारी हुने भए पनि मुख्यतया ग्राम नेगेटिभसँग लड्न बनाइएको हो।
त्यस्तै पहिलो र दोस्रो पुस्ताका एन्टिबायोटिक्स प्रतिरोधी क्षमता देखिएका व्यक्तिलाई मध्यनजर गर्दै तेस्रो पुस्ताको एन्टिबायोटिक्स बनाइएको हो।
चौथो पुस्ताको एन्टिबायोटिक्स भने थुप्रै खाले ब्याक्टेरियाविरूद्ध प्रयोग गर्न सकिन्छ। प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको लागि भने यो रिजर्भ हुन्छ।
पाँचौं पुस्ताको एन्टिबायोटिक्स उन्नत पुस्ता हो, जुन सबै एन्टिबायोटिक्सको प्रभाव नहुने अवस्था भएको व्यक्तिका लागि उपयोगी हुन्छ।
पहिलोदेखि तेस्रो पुस्तासम्मका एन्टिबायोटिक्स खाने र इन्जेक्सनमार्फत दिइने आधारमा पुनः वर्गीकरण गरिएका हुन्छन्। चौथो तथा पाँचौं पुस्ताका एन्टिबायोटिक्स भने इन्जेक्सनमार्फत मात्र दिइन्छ।
विगतमा कम मात्रामा वा कहिल्यै एन्टिबायोटिक्स नलिएको व्यक्तिको पनि अघिल्लो पुस्ताको एन्टिबायोटिक्सको प्रयोगबाट उपचार गर्न सकिन्छ। तर कस्तो प्रकारको संक्रमण हो भन्ने थाहा हुनुपर्छ।
साधारण ग्राम पोजेटिभ ब्याक्टेरियाबाट संक्रमित तथा विगतमा कहिल्यै पनि एन्टिबायोटिक्स नलिएको व्यक्तिका लागि अघिल्लो पुस्ताको एन्टिबायोटिक्सको प्रयोग गर्न समस्या हुँदैन। यदि बिरामीलाई अन्य कुनै समस्याका लागि अस्पतालमा भर्ना गरिएको छ र सो क्रममा अस्पतालबाट प्राप्त संक्रमण रहेको अवस्थामा उसलाई नयाँ पुस्ताको एन्टिबायोटिक्सको आवश्यकता हुन्छ।
चिकित्सकबाट दिइएको अघिल्लो पुस्ताको एन्टिबायोटिक्सले पूर्वनिर्धारित समयमा बिरामीको उपचार गर्न सफल नहुन पनि सक्छ। बिरामी त्यस्तो अवस्थामा सम्भवतः ग्राम नेगेटिभ ब्याक्टेरिया वा एन्टिबायोटिक्स रेसिस्टेन्स भएको ब्याक्टेरियाबाट संक्रमित भएको बुझिन्छ।
मूलतः संक्रमण देखिएको सुरूआतमै 'लेटेस्ट' पाँचौं पुस्ताको एन्टिबायोटिक्सबाट उपचार गर्नुपर्छ भन्ने छैन। यो सबै संक्रमणको प्रकृतिमा भर पर्छ। छाला रोग, युटिआई (युरिनरी ट्रयाक्ट इन्फेक्सन), युआरटिआई (अप्पर रेस्पिरेटरी ट्रयाक्ट इन्फेक्सन) अर्थात् माथिल्लो श्वासनलीको संक्रमण, सेप्सिस, एसटिआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) अर्थात् यौन सञ्चारित संक्रमण, सेप्सिस र निमोनिया आदि लगायतका रोगको प्रकृतिअनुसर कुन एन्टपबायोटिक्स प्रयोग गर्ने भनेर अवस्थानुसार फरक हुन्छ।
चिकित्सकबाट दिइएको प्रारम्भिक एन्टिबायोटिक्स कोर्सले पूर्वनिर्धारित समयमा बिरामीलाई असर गर्न नसकेको अवस्थामा कमसेकम तेस्रो पुस्ताको एन्टिबायोटिक्स प्रयोग गर्नु आवश्यक हुन्छ। अवस्थानुसार चौथो वा पाँचौं पुस्ताको एन्टिबायोटिक्स पनि आवश्यक हुन सक्छ।
(वरिष्ठ मुटुरोग विशेषज्ञ एवं जनरल फिजिसियन डा. रन्जित बराल बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र बल्खुस्थित वयोधा अस्पतालमा कार्यरत छन्।)