सडक डिभिजन कार्यालय ललितपुरले सानेपास्थित आठ लेनको रिङरोडमा अपुरो छाडेको जेब्राक्रस पुरै बनाउने भएको छ।
बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै सिडिई मुकुन्दराज अधिकारीले अपुरो भएको जेब्रा क्रसिङलाई पूरा गर्ने बताएका हुन्।
उनले दुई वटा लेनमा मात्रै जेब्राक्रस गत जेठमै बनेको जानकारी दिए।
‘जेठमा बनाइएको थियो। बनाउने मान्छेले दुई वटा लेन बनाएर अगाडि बढे। अलि अगाडि अर्को जेब्राक्रसिङ पनि छ,’ उनले भने, ‘त्यहाँ आठ वटै लेनमा जेब्राक्रसिङ बनाइएको छ। त्यहाँ बनाएर काम गर्नेहरू फर्किएनन्। त्यो ठाउँको छुटेछ।’
अचम्मको जेब्राक्रसबारे बिहीबार सेतोपाटीमा तस्बिरहरू छापिएका थिए।
‘त्यो जेब्राक्रस पूरा गर्न छुटेको कुरा तपाईंहरूको समाचार हेरेपछि याद आयो,’ उनले भने, ‘अब दुई-चार दिनमै बनाइहाल्छौं।’
तस्बिरहरू: आठ लेनको रिङरोडमा दुई लेनको जेब्राक्रस! (तस्बिरहरू)