पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरूद्ध प्रदर्शन गरिएको छ।
अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेको हो।
उनीहरूले 'दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर', 'ए सरकार जनता लुटिने कहिलेसम्म', 'पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर', 'महँगी र कालोबजारी नियन्त्रण गर' लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
बुधबार बिहान एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।
निगमले पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १७५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६४ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६६ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७८ रूपैयाँ प्रतिलिटर पर्नेछ।
त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ पर्नेछ।
तस्बिरहरू: