'गोल्डेन टेम्पल' भनेर चिनिने पाटनको हिरण्यवर्ण महाविहार (क्वः बहा) मा करिब ८ सय वर्ष पुरानो बौद्धग्रन्थ 'प्रज्ञापारमिता' सुनको अक्षरले जीर्णोद्धार भइरहेको छ।
राजा अभय मल्लको पाला (नेपाल सम्बत ३४५) मा आनन्द भिक्षुले तयार गरेको मानिने यो ग्रन्थ मलमासको समय पारेर जीर्णोद्धार भइरहेको हो।
प्रज्ञापारमितामा प्रज्ञाको अर्थ 'बुद्धि' र पारमिताको 'पूर्णता' हो। महायान बौद्ध धर्ममा प्रज्ञापारमितालाई महत्वपूर्ण ग्रन्थका रूपमा लिइन्छ जसको अर्थ हुन्छ- बुद्धिको पूर्णता।
विश्वका जुन जुन देशमा महायान बौद्ध धर्म फैलिएको छ, त्यहाँको बौद्धहरूमाझ प्रज्ञापारमिताको दार्शनिक महत्व मात्र होइन, सांस्कृतिक र व्यावहारिक महत्व पनि उत्तिकै पाइन्छ। बोधिसत्व मार्गका आवश्यक तत्वहरू यसमा उल्लेख छन्। यसको पाठ र अभ्यासको मूल उद्देश्य बुद्धत्व प्राप्ति हो।
आजभन्दा २५ सय वर्षअघि गौतम बुद्धले १ हजार ३ सय ५० जना भिक्षुलाई प्रवचन दिएको ज्ञान नै ८ हजार श्लोकमा यसमा उल्लेख गरिएको छ। रञ्जना लिपिमा लेखिएको यो ग्रन्थलाई मलमासबाहेक हरेक बिहान हिरण्यवर्ण महाविहार पाठ गरिन्छ। करिब तीन सय पृष्ठको यो ग्रन्थ साउन २ गतेबाट मलमासको एक महिनाभर जीर्णोद्धार गरिने महाविहारका गुठियार हेमरत्न बज्राचार्यले बताए।
'दैनिक पाठ हुने भएकाले हातले छुने र पल्टाउने गरिँदा यसका पाना बिग्रिएका हुन्छन्। त्यसैले प्रत्येक तीन वर्षमा मलमासकै समय पारेर ग्रन्थ जीर्णोद्धार गरिँदै आएको छ,' उनले भने, 'मलमासमै गर्नुपर्छ भन्ने चलिआएको नियम होइन। तर यो यस्तो समय हो जति बेला शुभकार्य, पूजाआजा गर्न राम्रो मानिँदैन। यति बेला ग्रन्थ पढ्ने गुर्जू, संरक्षण गर्ने गुठीयारहरू फुर्सदमा हुन्छन्। दैनिक पाठ पनि रोकिने हुँदा जीर्णोद्धार गर्ने उत्तम समय हो।'
धेरैलाई सुनको अक्षर भन्नाले सुनजस्तै देखिने रङ हो कि भन्ने लाग्न सक्छ। तर यो सुनौलो अक्षर मात्र होइन, सुनलाई नै घोटेर त्यसको धूलोले लेखिएको हो। यसको निम्ति दाताहरूले ढिक्का सुन नै दान गर्छन्।