काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङ शुल्क तोकेको छ।
सोमबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र दुई पाङग्रे र चार पाङग्रे सावरी साधनको शुल्क निर्धारण गरिएको बताएकी हुन्।
'महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ,' उनले भनिन्।
यस्तै दुई पाङग्रे सवारी साधनले आधा घण्टा पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने उनले बताइन्।
'एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ,' उनले भनिन्, '४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ। त्यसरी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जानेछ।'
पार्किङ शुल्क ठाउँ अनुसार फरक भएको भन्ने धेरै आम नागरिकको गुनासो आएपछि पार्किङ शुल्क निर्धारण गरिएको उनले बताइन्।