भारतको राजधानी नयाँदिल्लीमा यमुना नदीले खतराको तह पार गरेको छ।
टाइम्स अफ इन्डियाका अनुसार बिहीबार बिहान ८ बजे यमुना नदीको पानीले २०८.४८ मिटरको तह पार गरेको हो।
यमुनामा पानीको सतह बढेपछि आसपासका बस्ती डुबानमा परेका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास रहेको क्षेत्रमा पनि यमुनाको पानी पसेको छ।
डुबान भएका क्षेत्रमा बिहीबार विद्यालय बन्द गरिएका छन्।
यमुनाको पानीले खतराको तह छोएपछि मुख्यमन्त्री केजरीवालले आज आपतकालीन बैठक गर्दैछन्। यमुना नदीको आसपासमा नजान मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई आग्रह गरेका छन्।
दिल्ली ट्राफिक प्रहरीले पनि यमुना नदी आसपासका सडक प्रयोग नगर्न अनुरोध गरेको छ।
डुबानमा परेका हजारौं मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
पछिल्ला केही दिनयता उत्तरी भारतका दिल्ली, हरियाणा, पञ्जाब, उत्तराखण्ड, हिमाचल राज्यमा भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ।