अहिले बानेश्वरस्थित संघीय संसद् भवन पछाडिका बाटोमा जानुभयो भने रंगीचंगी भित्ता देख्न सक्नुहुन्छ। ती मार्गमा केही साता अघिदेखि विभिन्न रङ पोतिएका छन्।
यी मार्गका भित्ताहरू काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले रंगरोगन गरेको हो।
सहर सौन्दर्यीकरणका लागि सबै घरका भित्तामा अहिले 'स्याम्पलिङ' गर्न एकैनासे रङ लगाइएको ३१ का वडाध्यक्ष सरोज ढकालले जानकारी दिए।
उनका अनुसार सौन्दर्यीकरणका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दा टोल सुधार समितिले रङ लगाउन सुझाव दिएको थियो।
‘सहर सौन्दर्यीकरण काममा के गर्ने भनेपछि स्थानीयको मागअनुसार नै एकैनासे रङ लगाउने निर्णय भएको हो,’ उनले भने, ‘त्यसपछि टोल सुधार समितिले रङ छान्यो र सोही अनुसार काम अगाडि बढाइयो।’
अहिले बानेश्वरको जनता मार्गमा प्याजी रङ लगाइएको छ। यस्तै सुनकेशरी मार्गमा क्रिम रङ लगाइरहेको छ भने जनसहयोग मार्ग र अम्बिका मार्गमा पहेँलो रङ लगाइएको छ।
रङ लगाउन अहिले १० लाख बजेट छुट्टयाइएको इन्जिनियर सञ्जय साहले बताए।
‘हाल यस कार्यक्रम गर्न १० लाख बजेट छुट्टयाइएको थियो,’ उनले भने, ‘अहिले सोही बजेटबाट काम भइरहेको छ। यस बजेटबाट हुन सक्ने काम हुन्छ तर आगामी दिन यसमा छुट्टै बजेट पनि व्यवस्थापन गरिनेछ।’
यो नमूना राम्रो भए पछि सबैतिर लगाउँदै जाने उनले बताए।
‘यहाँ राम्रो देखियो भने सबैतिर रंगरोगन गर्छौं,’ उनले भने, ‘रोड मार्किङ सडकका दायाँबायाँका भित्ता एकानासे देखिँदा भिन्न मार्गहरू पनि सहजै छुट्याउन सकिन्छ र सुन्दर पनि देखिन्छ।’
सडक रंगरोगन गर्ने नाममा वडाको बजेट बालुवामा पानी झैं खन्याएको स्थानीय गुनासो गर्छन्। त्यसमध्ये एक हुन् रमेश नेपाली। उनले यो क्षणिक रमझम भएको बताए।
‘रङ लगाएर त अहिले राम्रो देखिएको छ। तर यो दुई–चार दिनको रमझम मात्र हो,’ उनले भने, ‘यो रङ नयाँ भइन्जेल राम्रो देखिन्छ अनि केही समयपछि झनै फोहोर हुन्छ।’
यसले उसलाई ‘असारे बजेट’को संज्ञा दिए।
अर्का स्थानीय कल्पना शर्माको चाहिँ यसमा भिन्न मत छ। यसले सडकको मात्र नभई वडाकै सौन्दर्यमा बढोत्तरी ल्याएको बताइन्।
‘अहिले बाटोमा हिँड्दा एकानासे रंग देख्दा कस्तो रमाइलो लाग्छ,’ उनले खुसी हुँदै भनिन्, ‘रङले गर्दा कुन टोल कताबाट सुरू हुन्छ भनेर पनि थाहा पाउन सकिन्छ। सबैतिर यस्तो बनाउँदा झनै राम्रो देखिन्छ।’
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7838%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7832%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7842%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7823%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7818%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7810%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7796%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7802%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7813%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/navadurga/mandira/basundhara%20khola/rangin%20bhittra%20of%20ktm%20baneshwar/_P1A7804%20copy.jpg)