काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा चिकित्सकहरूले बहिरंग सेवा (ओपिडी) बन्द गरेका छन्।
बुधबार बिहानदेखि अस्पताल प्रशासनमा चिकित्सकहरूले विरोध गर्दै ओपिडी सेवा बन्द गरेको अस्पतालका इन्चार्ज दिलिप शाहले जानकारी दिए।
अस्पतालले विज्ञप्ति जारी गरी प्रशासनमा गरिएको तोडफोडका कारण शान्ति सुरक्षामा बाधा पारेको कारओ नियमित अस्पताल सेवा संचालन हुन नसक्ने जनाएको हो।
उनहरूले यस घटनामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।
अस्पतालका इन्चार्ज शाहका अनुसार गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्ण कुमार धिताल जेठ २८ गते अस्पतालमा भर्ना भएका थिए।
उनको पथरीको अपरेशन गरिएको थियो।
‘उहाँको पथरीको अपरेशन गर्नुपर्ने थियो। चार दिन अघि अपरेशन गर्दा सकेसम्म दुरबिनले गर्ने र भएनभने पेट चिरेर गर्नपर्छ भनेका थियौं,’ इन्चार्ज शाहले भने, ‘अपरेशन गर्नुपर्ने भएपछि गर्यौं। यसो गर्दा कतिपय बिरामीमा धेरै ब्लिडिङ पनि हुन्छ।’
उनका अनुसार धितालको अपरेशन गर्न धेरै रक्तश्राव भएको थियो। त्यसपछि बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको उनले जानकारी दिए।
भेन्टिलेटरमा राख्नुपर्ने भएपछि बिरामीका आफन्तलाई चित्त नबुझेको भन्दै गुनासो समेत गरेका थिए। गुनासोसँगै उनीहरूले कानुनी प्रक्रिया अघि बढाउने समेत बताएका थिए।
‘हामीले उहाँहरूलाई एक-एक गरी कुराहरू बुझाउने प्रयास गर्यौं। तर उहाँहरूलाई चित्त बुझेन, कानुनी प्रक्रियामा जान्छौं भन्नुभएको थियो। मुद्दा दर्ता गर्ने, छानविन गरी दोषी देखिए चिकित्सकलाई कारबाही गरौं भन्ने कुरामा हाम्रो पनि सहमती नै थियो,’ उनले भने, ‘मुद्दा दर्ता गर्नको लागि कागजात चाहिएको भनेपछि हामीले उपलब्ध पनि गरायौं।’
तर मंगलबार साँझ भने बिरामीका आफन्तहरूले अस्पताल परिसरमा तोडफोड गरेको, कर्मचारीहरूमाथि कुटपिट, अपशब्द बोलेर धम्की समेत दिइएको उनले बताए।
नेपाल चिकित्सा संघ पनि विज्ञप्ति जारी गर्दै यो घटना निन्दनीय र भ्रत्सना योग्य भएको बताएको छ। कानुनी प्रक्रिया अपनाउने बाटो हुँदा पनि आपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दु:खद भएको संघले जनाएको छ। यस घटनामा संलग्नलाई कारबाही गर्न संघले माग गरेको छ।