ललितपुर महानगरले चोक-चोकमा हाइ मास्ट स्मार्ट सडक बत्ती (अग्ला बत्ती) जडान गर्ने काम गरिरहेको छ।
महानगरले महानगरका विभिन्न १२ वटा चोकमा अग्ला बत्ती जडान गरिरहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार अहिलेसम्म ४ वटा स्थानमा अग्ला बत्तीहरू जडान भइसकेका छन्।
‘विद्युत प्राधिकरणसँग सहकार्य गरी हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गर्ने काम भइरहेको हो,’ उनले भने, 'महानगरलाई उज्यालो बनाउने अभियानमा स्मार्ट सडक बत्ती जडान गर्ने काम भइरहेको छ।’
यस्तै महानगरका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार पुल्चोक क्याम्पस, महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा अग्लो बत्ती जडान भइसकेको छ।
‘बत्तीले टाढासम्म पनि उज्यालो दिओस् यस्ता बत्ती चोक चोकमा राखेका छौं,' उनले भने, 'यो बत्तीले ६० देखि एक सय मिटर रेडियसमा यो बत्ती प्रकाश छर्छ। यस्तै बत्ती १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती गरिएको हो।'
कुपन्डोलस्थित बागमती पुल, नबिल बैंक नजिकै रहेको पुल्चोक इनार, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिर अगाडि बुङमती बसपार्क, शंखमुलको शंखपार्क यो बत्ती जडान गरिने उनले बताए।
'ठाडोढुंगा चोक, धोवीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिर बत्ती जडान गर्न बेस तयारीको काम भइरहेको छ,' उनले भने, 'एक साताभित्र यी सबै चोकमा अग्ला स्मार्ट बत्ती जडान भइसक्ने छ।'
यस्तै महानगर चक्रपथ बाहिरका वडामा १४ सय बत्ती जडान गरिएको महर्जनले बताउँछन्।
'चक्रपथबाहिरका वडाहरू जस्तै सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैंसेपाटी, धापाखेल लगायतमा स्मार्ट सडकबत्ती जडान गरिसकेका छौं,' उनले भने, ‘केही ठाउँमा भने प्राविधिक समस्या देखिएको छ। ती ठाउँमा दुई साताभित्र काम सकिनेछ।’
यस्तै यी बत्तीहरूलाई कम्प्युटरको सहायताले सर्भर रूमबाट नियन्त्रण गरिने उनले बताए।
'पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा जानु पर्दैन,' उनले भने, 'सर्भर रूमबाट नै काम गर्न सकिन्छ।'
मेयर महर्जनका अनुसार सडक बत्तीको शुल्क मिटरबाट रिडिङ हुने र उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ।
त्यस्तै, महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने तयारी गरेको छ।
महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चत्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको मेयर महर्जन बताउँछन्।
यसका लागि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।
'चक्रपथमा जडान गरिने स्मार्ट सडक बत्तीले रातको समयमा हुने सडक दुर्घटना न्यून हुनेछ,' उनले भने, ‘अधिकांश दुर्घटना राति बत्ती नभएको कारण भएका छन्। उज्यालो भएपछि राति पनि सुरक्षित हुनेछ।'
महानगरपालिकाले कोर एरियामा अहिलेसम्म ६ सय ६९ वटा स्मार्ट सडकबत्ती जडान गरिसकेको महानगरपालिकाले जनाएको छ।