बिहीबार दिउँसो एक बजे तिलगंगा आँखा प्रतिष्ठान भवन 'ख' को चौथो तलामा चिकित्सकहरूको छलफल थियो। 'आँखा दानलाई संस्कार' बनाउने विषयमा छलफल केन्द्रित भयो।
छलफलमा चिकित्सकहरू बारम्बार एक व्यक्तिको नाम दोहोर्याइरहेका थिए- सविन बोगटी।
हाल २८ वर्षका सविनको जन्मजात आँखाको दृष्टि गुमेको थियो।
बिहीबार छलफलमा जुटेका चिकित्सकहरूले नै १७ वर्षअघि उनलाई संसार देख्न मद्दत गरेका हुन्। त्यति बेला सविन ११ वर्षका हुँदा तिलगंगामा उनको आँखाको नानी प्रत्यारोपण भएको थियो।
स्याङ्जाको आँधीखोला गाउँपालिका-५ का सविन गोविन्दबहादुर र लिलावतीका तेस्रो सन्तान हुन्। उनका दुई दिदी छन्।
सविन तीन वर्षको हुन्जेल बोगटी परिवारमा खुसी नै खुसी छायो। त्यसपछि एक्कासि त्यो खुसीमा कालो बादल मडारियो। आमाबाले थाहा पाए, छोराले देख्न सक्दैन।
निराश भएका उनीहरूले गाउँमै धामी झाँक्रीकहाँ 'हेराउन' लगे। त्यति बेला अस्पताल लैजानुपर्छ भन्ने चेतना भएन।
'छोरा देख्न सक्ने होला कि भनेर देवीदेवता र मठमन्दिरमा कति भाकल चढायौं, त्यसको लेखाजोखा छैन,' सविनका बुबा गोविन्दले भने, 'जे गर्दा पनि हाम्रो छोराको आँखामा उज्यालो परेन।'
पछि गाउँकै एक शिक्षित व्यक्तिको सल्लाहमा बोगटी दम्पतीले सविनलाई पोखरा अस्पताल पुर्याए। त्यहाँ लगेपछि बल्ल थाहा भयो, सविनको आँखामा मोतियाबिन्दु भएको रहेछ।
पोखरा अस्पतालमा दुई वर्षसम्म सविनको आँखाको नियमित उपचार भयो। मोतियाबिन्दुको शल्यक्रिया पनि गरियो। उनले आँखा देख्न भने सकेनन्।
उपचार सफल नभएपछि त्यहीँका डाक्टरले सविनलाई काठमाडौं लैजान सुझाव दिए। काठमाडौंको त्रिवि शिक्षण अस्पतालका चिकित्सकले फेरि मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्छ भने। छोरालाई आँखा देखाउन जुनसुकै मूल्य चुकाउन बोगटी दम्पती राजी थिए। तर पनि सविनको आँखामा ज्योति आएन।
'काठमाडौं आएर उपचार गराउँदासम्म हाम्रो लाखौं रूपैयाँ खर्च भइसकेको थियो,' गोविन्दले भने।
सामान्य आर्थिक अवस्था भएका उनीहरूले उपचारका लागि ऋण खोजेका थिए। दुई पटकको शल्यक्रिया र लाखौं खर्च गरे वनि सविनले संसार देख्न सकेनन्।
आमाबालाई लाग्यो, अब छोराको आँखामा ज्योति कहिल्यै आउँदैन!
त्यसपछिका कति रात उनीहरूले रोएर कटाए, कति आफैंलाई धिक्कार्दै।
अस्पताल धाउन भने छाडिसकेका थिएनन्।
'कतै न कतै उपचार होला भन्ने झिनो आश बोकेका थियौं,' गोविन्दले विगत सम्झिँदै भने।
त्यही झिनो आशको भर लागेर उनीहरू तिलगंगा आँखा अस्पताल पुगे। त्यहाँका चिकित्सकले गोविन्दको झिनो आशमा मलजल गरेर मजबुत बनाइदिए। सविनले आँखा देख्न सक्ने सम्भावना कायमै रहेको उनीहरूले बताए।
बारम्बारको उपचारबाट असफल भएपछि निराश बनेका गोविन्द चिकित्सकका कुरा सुनेर हर्षविभोर भए। यतिका समय उनी आफैंलाई संसार अँध्यारो लागिरहेको थियो।
'छोराले आँखा देख्न सक्ने सुनेर मलाई चारैतिर उज्यालो महसुस भयो,' गोविन्दले भने।
सविनले आँखा देख्न सक्ने शतप्रतिशत ग्यारेन्टी भने चिकित्सकहरूले दिएका थिएनन्। तैपनि तेस्रोपटक शल्यक्रिया गराउन गोविन्द राजी भए। तर उनको सपना तत्कालै पूरा हुनेवाला थिएन।
अस्पतालले सविनको आँखाका लागि उपयुक्त कर्निया (नानीको बाहिरी भागको झिल्ली) नभेटिएको भन्दै लामो समय कुरायो।
'बेलाबेला बुबा बुझ्न अस्पताल जानुहुन्थ्यो। आँखाको कर्निया पाएपछि बोलाउँछौं भन्दै फर्काइ दिनुहुन्थ्यो,' सविनले भने।
तिलगंगामा तेस्रो पटक सविनको आँखा शल्यक्रिया गर्ने सहमति हुँदा उनी ७ वर्षका थिए। उनी ११ वर्ष पुगेपछि बल्ल मिल्ने कर्निया भेटियो र उनको पालो आयो।
०६३ साउन २३ गते सविनको दायाँ आँखाको शल्यक्रिया गरियो र नानी प्रत्यारोपण सफल पनि भयो। शल्यक्रिया भएको केही दिनमा आँखाको पट्टी खोल्दा डाक्टरले विस्तारै आँखा खोल भनेको आवाज आज पनि सविनको कानमा गुञ्जिरहन्छ।
पहिलो पटक आँखा खोल्दा उनले डाक्टर रिता गुरूङलाई देखेका थिए। डा. गुरूङले नै सविनको आँखाको सफल प्रत्यारोपण गरेकी थिइन्।
'उहाँले हातका औंला देखाउँदै कति वटा छन् भनेर सोध्नुभएको थियो,' सविनले भने।
उनलाई आज पनि त्यो दिन याद छ।
आँखा खोल्दा उनले वरिपरिका मानिस, सामान केही पनि प्रस्ट देख्न सकेका थिएनन्। एक घन्टापछि उनलाई आमासँग भेट गराइयो। उनको कानमा आमाको आवाज गुञ्जिएको थियो। आमाको स्पर्श महसुस गरेका थिए। ममता र स्नेहको अनुभव थियो। त्यही अन्दाजमा उनले कल्पनामै आफ्नी आमाको चित्र कोरेका थिए।
'बोली सुन्दा आमा कस्ती होलिन् भन्ने लाग्थ्यो,' सविनले भने, '११ वर्षपछि एकैपटक देख्न पाउँदा खुब रोएँ।'
साथीभाइले रङका विषयमा कुरा गर्थे। त्यति बेला उनलाई रङ कस्तो हुन्छ भन्ने उत्सुकता र कौतुहलता हुन्थ्यो। उज्यालो र रंगीन संसार देख्दा पाएको दिन आफूले दोस्रो जन्म पाएको उनी बताउँछन्।
'११ वर्षसम्म शारीरिक र मानसिक पीडा सहेँ। दैनिक गर्नुपर्ने काममा अरूको भर पर्नुपर्थ्यो। आफूले अह्राएको काम नमानिदिँदा मन दुख्थ्यो। तर अर्को विकल्प पनि थिएन,' सविनले भने।
आँखा नदेख्ने भएकाले उनी शिक्षा-दीक्षाबाट पनि बञ्चित थिए। उनका उमेरका साथीभाइले किताब पढेको सुन्दा उनी अचम्म मान्थे। साथीभाइले कहिलेकाहीँ कथा-कविता पढेर सुनाइदिँदा कसरी लेखिएका होलान् भन्ने कल्पना गर्थे।
शल्यक्रिया गरेर एउटा आँखा देख्ने भएपछि सविन ११ वर्षको उमेरमा स्कुल जान थाले। उनलाई स्थानीय सरस्वती माध्यामिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको थियो।
'म कालो चस्मा लगाएर पढ्न जान्थेँ,' उनले भने, 'साथीभाइसँग खेल्न अप्ठ्यारो लाग्थ्यो।'
उनको प्राथमिक तहको पढाइ सकिनुअघि नै, २०६७ सालमा बायाँ आँखाको नानी पनि प्रत्यारोपण भयो। १५ वर्षको उमेरमा उनी दुवै आँखा देख्न सक्ने भए।
आँखा प्रत्यारोपण गरेको लामो समयसम्म सविन घामको किरण सिधा हेर्न र आगो नजिकै बस्न सक्थेनन्। त्यसैले घर र स्कुल जाँदा प्रायः कालो चस्मा लगाउँथे।
सविनले श्री प्रद्युम्न पनेरू उच्च माध्यमिक विद्यालयबाट २०७२ सालमा एसइई पास गरे।
'एसइईपछि परिवार नै काठमाडौं आयौं,' उनले भने, 'विगतका कुरा यहाँका साथीभाइलाई थाहा थिएन, त्यसैले यताको बसाइ रमाइलो लाग्यो।'
आँखा नदेख्दा साथीभाइ तथा आफन्तले मन दुख्ने शब्द प्रयोग गरेर गाली गरेका थिए। काठमाडौंमा त्यो सबै सुन्न नपर्दा उनलाई ढुक्क भयो।
उनी भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा प्लस-टु पढ्न भर्ना भए। केही कामधाम नहुँदा काठमाडौंमा बसेर पढ्न त्यति सजिलो छैन। उनलाई प्लस-टु पढिसक्दा यो कुरा महसुस भयो। त्यसैले उनले साथीसँग मिलेर आफू बस्ने ठाउँनजिकै, बालुवाटारमा मोटरसाइकल वर्कसप सञ्चालन गरे। पढाइलाई पनि निरन्तरता दिए।
प्लस-टु उत्तीर्ण गरेर स्नातक पढ्न भने उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका छन्। वर्कसप चलाउनुपर्ने भएकाले दैनिक कलेज जाने अवस्था छैन। त्यसैले पोखरामा भर्ना भएको उनी बताउँछन्।
कलेजका केही साथीहरूले उनलाई 'हामी पनि आँखा दान गर्छौं' भनेर सुनाउँछन्। उनीहरूमध्ये धेरैलाई त सविनले आफ्नोबारे भनेकै होइनन्। जसलाई भने, सविनले बच्चामा आँखा देख्न सक्थेनन् भन्ने कुरा सुनेर अचम्म मान्छन्।
सविन अहिले आफ्नो सबै काम आफैं गर्छन्। कसैको भर पर्नुपर्दैन। जन्मजात सामान्य दृष्टि भएको मानिसझैं छन्। मनैमनै उनी आफूलाई आँखा दान दिने व्यक्तिलाई धन्यवाद दिन्छन्। कुनै मान्छेको मृत्युपछि गरिने आँखा दानकै कारण आफूले जीवितै हुँदा पुनर्जन्म पाएको उनी बताउँछन्।
'कसैले आँखा दान नगरेको भए मैले उज्यालो संसार देख्नै पाउँदिनँ थिएँ होला,' उनले भने, 'त्यसैले आँखाको नानी दान गर्न सबैलाई अनुरोध गर्छु।'
सविन मात्र होइन, विगत २८ वर्षमा तिलगंगा अस्पतालबाट १२ हजार ३ सय ४० जनाले अन्धकारबाट मुक्ति पाएर उज्यालो संसार देख्न पाएका छन्। दृष्टिविहीनले रंगीन संसार देख्न पाउने भएकाले आँखा दानलाई संस्कार बनाउनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वयना बताउँछन्।
'मृत्युपछि जलेर खरानी हुने आँखा दान गर्ने संस्कार बनायौं भने धेरै दृष्टिविहीनले दोस्रो जन्म पाउँछन्,' उनले भने।
उनका अनुसार सन् १९९४ सेप्टेम्बर १६ मा आँखा बैंक स्थापना भएपछि नानी प्रत्यारोपणमा सहज भएको हो। बैंकले दाताहरूबाट पाएको आँखाको नानी संकलन, परीक्षण र सञ्चय गर्छ। काठमाडौं उपत्यकामा अहिले पशुपतिको विद्युतीय शवदाह गृहसँगै वीर, टिचिङ, गंगालाल र पाटन अस्पतालबाट आँखा दान गर्नेको नानी संकलन गरिन्छ। उपत्यकाबाहिर भने स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा क्षेत्रीय संकलन केन्द्र स्थापना गरिएको छ। यी ठाउँमा बैंकका परामर्शदाताले सम्झाइबुझाइ गरेर आँखा दान गर्न आग्रह गर्छन्।
आँखा दान गर्नेको संख्या बढिरहे पनि यो विषयमा अझै धेरै मानिसको बुझाइ संकुचित रहेको व्यवस्थापक त्वयना बताउँछन्।
'आँखा दानको कुरा गर्दा अहिले पनि धेरै मानिस रिसाउँछन्। पूरै आँखाको भाग निकाल्ने भन्ने बुझ्छन्। त्यस्तो होइन। हामी आँखाको नानीको बाहिरी झिल्ली मात्र निकाल्छौं,' उनले भने।
दुईदेखि ७० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी निकाल्न मिल्छ। कुनै दीर्घरोग नलागेको र दृष्टि प्रस्ट (क्लियर भिजन) भएका व्यक्तिको नानी निकाल्न मिल्छ। एउटा आँखाको नानी झिक्न करिब १५ मिनेट लाग्छ। प्रत्यारोपण गर्दा कम्तिमा एक घन्टा।
'तर मृत्युपछि फरक जातको मानिसले छुन हुँदैन भन्ने सोच भएकाले कतिपयले शव छुनै दिँदैनन्,' व्यवस्थापक त्वयनाले भने, 'त्यस्तै दान गर्दा अर्को जन्ममा आँखै देखिँदैन भन्ने सोच पनि छ। कतिपयले एउटा आँखा दान दिन्छन्। हामी त्यो पनि लिन्छौं।'
प्रायः मानिसको आँखाको नानीमा पाँच तहको झिल्ली हुन्छ। त्यसबाट दुई तहको झिल्ली मात्र निकालिने उनले बताए।
'एउटा मात्रै आँखाको नानीले पनि दुई जनाले देख्न पाउँछन्,' उनले भने, 'प्रत्यारोपण गर्दा धेरैको नानीको एक तहको झिल्ली फेरे पुग्छ।'
धूलोधुवाँ, वनजंगल तथा माटोको काम गर्दा आँखामा चोटपटक लागेर नानी बिग्रिने जोखिम हुन्छ। आँखा पाक्ने, दादुरा, टाइफाइड, बिफर तथा कुपोषणले पनि नानीमा समस्या ल्याउन सक्छ। यस्ता ९० प्रतिशत बिरामीको आँखा प्रत्यारोपण भए दृष्टि फर्किने व्यवस्थापक त्वयना बताउँछन्।
फेरि यो संसार नियाल्न पाउने सपना साँचेर बसेका व्यक्तिहरूको लाइन लामो छ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डारिता गुरूङ धेरै मानिसले आँखा दान गरे ९० प्रतिशत दृष्टिविहिनले उज्यालो देख्न पाउने बताउँछिन्। देशभर अहिले लगभग सात हजार नानीको माग छ। तिलगंगामा भने ५/७ जना मात्र प्रत्यारोपणको पर्खाइमा रहेको उनले बताइन्।
'मृत्युपछि अगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी कसैका लागि वरदान हुन्छ। यो सत्कर्म हो,' उनी भन्छिन्, 'आँखा नानी दान गराउन प्रेरित गराउनु सबैको जिम्मेवारी पनि हो।'
आँखा दानप्रतिको सोच सकारात्मक बन्दै गएको र नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भर हुँदै गएको उनले जानकारी दिइन्।
यसरी आँखा दान दिनेहरूको सम्झनामा हरेक जून १० तारिखमा तिलगंगामा श्रद्धाञ्जली सभा गरिन्छ।