पिसाबमा रगत जस्तो देखियो भन्दैमा रगत नै हुन्छ भन्ने हुँदैन। सुरूमा हाम्रो ओपिडीमा कतिपय बिरामीहरू आत्तिएर समेत आउँछन्। त्यसैले हामीले सुरूमा रातो रंगको पिसाब गएको हो कि रगतै गएको हो भनेर हेर्नुपर्छ।
रंगहरू हालेको खानेकुरादेखि कतिपय औषधिहरूको सेवनले समेत यस्तो हुन्छ।
औषधिको कारणले गर्दा वा कुनै रोगकै कारणले या मुत्रनलीको कुनै समस्याको कारणले समेत पिसाबमा रगत देखिन्छ। रातो रंगको पिसाब आइसकेपछि कुनै रोगको कारण हो या अन्य कारणले आएको हो त्यो छुट्याउन जरूरी हुन्छ।
त्यसको लागि बिरामी हामीकहाँ आइसकेपछि विस्तृत रूपमा विवरण लिन्छौं। यो त्यति असामान्य समस्या होइन। बिरामीहरू यस्ता समस्या लिएर आइरहन्छन्। यसको कुनै विशेष उमेर समूह छैन।
४० वर्ष कटेका बिरामीको पिसाबमा रगत देखियो भने अझै गम्भीर रूपले परीक्षण गर्नुपर्छ। कसैलाई रगत पातलो गर्ने औषधिको कारणले समेत पिसाबमा रगत देखिएको हुन्छ। पिसाबको थैली, मिर्गौलाको रोग लगायतका समस्याको कारणले पिसाबमा समस्या देखिन्छ। त्यसैले यसको उपचार गर्नुभन्दा पहिला कारण पत्ता लगाउन जरूरी छ।
समयमा रोग पत्ता लगाएर उपचार गरिएन भने धेरै समस्या आउन सक्छ। त्यसैले कुनै लक्षण देखियो भने समयमै अस्पताल जानुपर्छ।
(पिसाबमा रगत देखिने समस्याबारे भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कन्सल्टेन्ट युरोलोजिष्ट डा.सुदिप केसीसँग सेतोपाटीका लागि सन्जिब बगाले र राजेश घिमिरेले भिडिओ कुराकानी गरेका छन्।)