भरतपुरमा काने भनिने अनिल परियारको हत्या लगत्तै फरार रहेका व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्।
चितवनको साविक दिव्यनगर गाविस-७, हालको भरतपुर महनागरपालिका- २६ बस्ने ३८ वर्षीय अजय सिंह भन्ने अशोक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
२०७९ सालको वैशाख २५ गते साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पञ्चेश्वर नगर प्लटिङको भित्री पक्की पिच सडकमा परियारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
स्थानीय तहको चुनावभन्दा केही दिनदेखि यो घटना भएको थियो।
वारदातको समयमा धारिलो हतियार छुरी प्रहार गर्ने मुख्य प्रतिवादी भण्डारीलाई निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रूपन्देहीको बेलहियाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
उनलाई बुधबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको पण्डितले बताए।