विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।
पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको छ। अचाक्ली गर्मी बढेकोले मान्छेहरूको आवतजावत पनि पातलिएको छ। मान्छेहरू गर्मी छल्नका लागि विभिन्न उपाय अपनाइरहेका छन्।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइन्।
उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ।
केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३० डिग्रीसम्म पुगेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।
नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन्।