नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको छैटौं दिनमा बयान सुरू भएको छ।
सोमबार उनलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। उनको अहिले बयान सुरू भइसकेको कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए।
सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीका अनुसन्धान अधिकृतले खाणमाथि सोधपुछ गरी बयान लिइरहेको हो। खाणले बयानको क्रममा भनेका कुराहरू नै अनुसन्धान प्रतिवेदन (मिसिल) मा उल्लेख हुने व्यवस्था छ।
प्रहरीले सोधपुछ गरे पनि आवश्यक परेमा सरकारी वकिलले पनि सोध्न सकिने घिमिरेले बताए।
‘बयान लिँदा प्रहरीका अनुसन्धान अधिकृतले सोधपुछ गर्ने हो। हाम्रो सरकारी वकिलको रोहबरमा बयान हुन्छ। यहाँ भनेका कुराहरू नै प्रतिवेदनमा उल्लेख हुन्छन्,’ उनले भने।
यसअघि प्रहरीले अनुसन्धानका लागि सोधपुछ गर्दा भनेका कुराहरू भने मान्य नहुने पनि उनले बताए।
मुलुकी फौजदारी कार्यविधिको दफा १६ मा बयान लिने र सोधपुछ गर्ने शीर्षक उल्लेख छ।
त्यसमा भनिएको छ- कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष अभियुक्तको बयान लिनेछ।
(२) उपदफा १ बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनुपर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ।
(३) अनुसूची-१ वा अनुसूची-२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूर्ण कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएको व्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ।
(४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नुपर्नेछ।
प्रहरीले खाणलाई गत बुधबार बिहान मैजुबहालबाट पक्राउ गरेको थियो। तर आइतबारसम्म पनि उनको बयान हुनसकेको थिएन।
प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। जसअनुसार ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गराइसक्नुपर्छ। सोमबारसम्म अनुसन्धान गरेको ५२ औं दिन भएको छ।
सरकारी वकिलको कार्यालयले पनि मिसिल अध्ययन गर्नुपर्ने भन्दै ४ दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन प्रहरी परिसरलाई निर्देशन समेत दिएको छ। तर प्रहरीले बयान गराउनलाई नै ढिला उपस्थित गराइरहेको सरकारी वकिल कार्यालयको भनाइ छ।
‘हामीले पनि मिसिल अध्ययन गर्नुपर्ने हुन्छ। तर पक्राउ परेको ४-५ दिनसम्म पनि प्रहरीले बयान गराउन ल्याउँदैन,’ वकिल कार्यालय स्रोतले भन्यो।
खाणसँगै पक्राउ परेका उनका पिए नरेन्द्र केसीको पनि आइतबार मात्रै बयान लिएको छ। तर एकै पटक बयान लिन सकिने भए पनि नलिएको स्रोतले बतायो।
‘सरकारी वकिल थप गरेर भए पनि बयान लिन सकिन्थ्यो। तर प्रहरीले आज बल्ल ल्याएको छ,’ स्रोतले भन्यो।
बुधबार पक्राउ परेका खाणलाई अदालतमा म्याद थप गराउनमै दिन बितेको थियो। बिहीबार र शुक्रबार पनि प्रहरीले उनको बयान गराउन सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थिएन।
आइतबार भने पुन: म्याद थपका लागि उनलाई अदालत लगिएको हो।
प्रहरी स्रोतले कागजपत्र मिलाउनुपर्ने, प्रमाण संकलनका काम भएकाले पनि ढिलो भएको बताएको छ। प्रहरीले खाणको मोबाइल पनि बरामद गरेको थियो। जुन फर्म्याट गरिएको थियो।
फोनबाट फर्म्याट गर्दा हराएका डाटा रिट्रिभ गर्नको लागि प्रधान कार्यालयको फरेन्सिक ल्याबमा पठाएको छ। त्यहाँबाट रिपोर्ट आइसकेपछि मात्रै बयान लिइएको स्रोतले बतायो। बयान लिनका आधार चाहिने भएकाले पनि प्रमाण संकलन गरिएको हो।
प्रहरीले यस प्रकरणमा खाण र एमाले सांसद टोपबहादुर रायमाझीको मात्रै बयान लिन बाँकी थियो। रायमाझी आइतबार राति काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परे। सोमबार उनको पनि म्याद थप गर्ने तयारी छ।
यस प्रकरणमा अहिलेसम्म खाण, रायमाझीसहित १३ जना पक्राउ परेका छन्। उनीहरूसँगै खाणका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी पनि हिरासतमा छन्।