नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगेको प्रकरणमा पक्राउ परेका आठै जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
यस प्रकरणमा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ।
पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई प्रहरी हिरासतमा छन्।
उनीहरू सबैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रहरीले यस प्रकरणमा एमाले सांसद रायमाझी लगायत केही व्यक्तिहरूविरूद्ध पक्राउ अनुमति लिएको छ। अहिले ती सबैजना फरार छन्।
उनीहरूमाथि संगठित अपराध कसूरमा अनुसन्धान भइरहेको छ।