नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनाबारे बुझ्न प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई बोलाएको छ।
प्रहरीले बोलाएपछि बुधबार उनी जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।
‘उहाँ उपस्थित हुनुभएको छ,’ उनले भने।
उनी २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। अहिले उनी उपराष्ट्रपति कार्यालयमा सचिवको रूपमा कार्यरत छन्।
मंगलबार मात्रै प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनी पक्राउ परेका हुन्।
यस घटनामा उनका छोरा निरज राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर उनी पक्राउ परिसकेका छैनन्।
प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।
यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।
कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो।
अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो।