पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो।
मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले इन्द्रजितलाई पक्राउ गरेको थियो।
उनलाई जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी पक्राउ गरेको हो। निरजलाई भने प्रहरीले फेला पारेको छैन।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार राईले नक्कली भुटानी शरणार्थी बनाउने कुराका लागि गृह मन्त्रालयमा सहजीकरण गरिदिएका थिए।
उनीविरूद्ध बयान तथा प्रमाणहरू पाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।
केशव दुलालले सागर राई लगायतलाई खटाएर पीडितको विवरण तथा रकम असुल्ने काम गर्थे। यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
उनीहरूले दिएका बयानमा इन्द्रजित राईको संलग्नता पनि खुलेपछि पक्राउ गरेको ती प्रहरी अधिकारीले बताए।
‘राईले पनि पैसा खाएको भन्ने कुरा आएको हो। हामी उनको बैंक खाताहरू पनि हेर्छौं,’ उनले भने।
अनुसन्धानको क्रममा उनले मात्रै ५ करोडभन्दा बढी रकम लिएको खुलेको छ।
‘मन्त्रालयभित्र जे-जे मिलाउनुपर्ने हो त्यो सबै उनले गर्ने देखियो। भित्र मिलाउनेमा उनको भूमिका मुख्य देखिन्छ,’ उच्च स्रोतले भन्यो, ‘सल्लाहकार भएको बेलामा उनले भूमिका खेले, त्यसपछि फेरि अरूको पनि भूमिका देखिन्छ।’
२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।
कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो।
अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो।
त्यस प्रतिवेदनमा पनि ८ सय भन्दा बढी नक्कली भुटानी शरणार्थीको नाम समावेश गरिएको उच्च स्रोतले बतायो।
त्यसमा भएका चार वटा अनुसूचिमा मात्रै वास्तविक शरणार्थीको नाम उल्लेख भएको उनले बताए। बाँकीका नाम भने पछि थपिएको पाइएको उनले बताए।
इन्द्रजितपछि भूमिका खेल्ने व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ। सुरूमा भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्ने जाहेरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो।
उक्त जाहेरीको आधारमा प्रहरीले केशव दुलाल लगायतलाई पक्राउ गरेको थियो। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला परिसर काठमाडौंमा पठाएको हो।
परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।