गत शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका 'भिक्टोरिया क्रस' विजेता क्याप्टेन रामबहादुर लिम्बूलाई ब्रिटिश गोर्खाले विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेको छ।
ललितपुरको मानभवनस्थित ब्रिटिश क्याम्पमा ब्रिटिश गोर्खा काठमाडौंले आयोजना गरेको कार्यक्रममा भिसी लिम्बूलाई श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाल आर्मी, इण्डियन आर्मी लगायतका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
दमक-८ का स्थायी बासिन्दा लिम्बू मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए। उनको झापाको बिएण्डसी अस्पतालमा उपचार गर्दा ठीक हुन नसकेपछि मेडिसिटी ल्याइएको थियो।
उनको अन्त्येष्टि र सम्मानको लागि ब्रिटिश गोर्खाले नेपालसँगै बेलायतबाट समेत गोर्खा सैनिक खटाएको छ।
प्रिन्सेस मेरी ओन्स गोर्खा राइफलस १० जीआरका उनले सन् १९६५ नोभेम्बर १२ को दिन त्यतिबेला इन्डोनेसिया र मलेसियाबीचमा रहेको सरवाकमा शत्रु पक्षका २४ जनालाई एक्लैले सिध्याएर बाँकीलाई युद्ध मैदानबाट भगाएबापत उनले भिक्टोरिया क्रस प्राप्त गरेका थिए।
ब्रिटिश क्याम्पमा श्रद्धाञ्जलीपश्चात् उनको पार्थिव शरीर गृहनगर झापा लागिएको छ। आइतबार झापाको दमकमा परिवारजनबीच अन्तिम श्रद्धाञ्जलीपश्चात् अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
तस्बिरहरू: