ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण वरपरका केही घर भासिएपछि प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रूपैयाँको उद्धार कोष स्थापना गर्ने निर्णय भएको छ।
ललितपुर महानगरपालिकामा आइतबार बसेको सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले समिटका तर्फबाट एक करोडको उद्धार कोष स्थापना गर्नेसहित १२ बुँदे निर्णय गरेको ललितपुर महानगरले जनाएको छ।
प्रभावित व्यक्तिहरूको समस्या समाधान तथा सहजीकरणमा अगुवाइ गर्न ललितपुर महानगरका उपमेयरको संयोजत्कवमा अधिकारसम्पन्न सर्वपक्षीय समिति गठन गरिएको छ। समितिमा ललितपुर महानगरका प्रवक्ता, वडा नम्बर १ र २ का अध्यक्ष, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सदस्य रहने छन्।
त्यस्तै, होटल व्यवस्थापनका तर्फबाट संचित श्रेष्ठ र प्रभावित व्यक्तिका तर्फबाट रञ्जनध्वज विष्ट, रचन शाही र प्रविन आचार्य पनि समितिमा सदस्य रहेका छन्। ललितपुर महानगरको पूर्वाधार निर्माण महाशाखा प्रमुखलाई सदस्य-सचिव तोकिएको छ।
ललितपुर महानगरका अनुसार परियोजनाबाट प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोडको 'र्यापिड रिलिफ फन्ड' स्थापना गर्ने र त्यसको खर्च आवश्यकताअनुसार व्यवस्थापनबाट थप्दै जाने भनिएको छ।
सर्वपक्षीय समितिले कोष परिचालन तथा व्यवस्थापनसहित प्राविधिक टोली, जोखिम आकलन र सम्बोधन लगायतका काम गर्ने बैठकको निर्णयमा उल्लेख छ। यही समितिले सम्बद्ध पक्षसँग समन्वय र सल्लाह गरी समाधानका उपाय पहिचान एवं कार्यान्वयन गर्ने छ।
भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाको क्षतिबमोजिम क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने छ। थप क्षति हुन नदिन व्यवस्थापकले तत्काल आवश्यक काम-कारबाही अगाडि बढाउने भनिएको छ।
प्रभावित संरचना तथा व्यक्तिहरूलाई क्षतिपूर्ति दिने कार्य नभएसम्म होटल निर्माणसम्बन्धी काम रोक्ने पनि बैठकको निर्णयमा छ।
ललितपुर महानगरले आफूकहाँ नक्सापास स्वीकृत नगराई निर्माण कार्य भएको देखिएकाले सम्बन्धित पक्षलाई कानुनबमोजिम हदैसम्म कारबाही गर्ने पनि निर्णयमा छ।
होटल व्यवस्थापनका तर्फबाट २०७९ चैत २५ गते गरिएका प्रतिबद्धतालाई यसै निर्णयको एनेक्सका रूपमा राखेर सम्बोधन गर्दै जाने निर्णयमा उल्लेख छ।