यसपालि 'महिनावारीका कुरा'मा हामीले नायिका अन्जना बराइलीको अनुभव समेटेका छौं। धादिङमा जन्मिएकी २३ वर्षीया अन्जना सानैदेखि कला क्षेत्रमा चाख राख्थिन्। छ वर्षअघि म्युजिक भिडिओमा काम गर्दै कला क्षेत्र प्रवेश गरेकी अन्जनाले 'महापुरूष' फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी हुन्।
सेतोपाटीका मन्दिरा घिमिरेले अन्जनासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।
म पहिलोपटक महिनावारी हुँदा १२ वर्षकी थिएँ। महिनावारी भएर रगत आएको देखेपछि मलाई केहीले काट्यो होला भनेर रोएकी थिएँ। केही समयपछि फुपूलाई मलाई काटेर ठूलै घाउ भएजस्तो छ, रगत आयो भनेर सुनाएँ।
उहाँले मलाई केही नभनी हतासफतास गरी आमालाई बोलाउनुभयो।
आमा आएपछि उहाँले 'सानु अब तिमी यहाँ बस्न हुँदैन, बाबा र भाइको मुख पनि हेर्नु हुँदैन, तिमी फुपूको घरमा गएर बस्नुपर्छ, उहाँहरू उठ्नुभन्दा अगाडि यहाँबाट गइहाल्नुपर्छ' भनेर मेरा लुगाहरू पोको पारी ल्याइदिनुभयो।
मलाई चोट लागेर रगत आइरहेको छ भनेर भन्न खोजिरहेकी थिएँ। तर उहाँले केही सुन्नुभएन न केही भन्नु नै भयो।
फुपूको घरमा उहाँले अन्जना तिमी नछुने भयौ भन्नुभयो। मलाई नछुने भन्ने शब्द नै मनपरेको थिएन। फुपूले भनेपछि मात्र मैले महिनावारी भएको थाहा पाएकी थिएँ।
महिनावारी हुँदा पिसाब गरे झैं रगत आउनुपर्ने तर मलाई किन यस्तो भयो भनेर सोचेँ। त्यति बेला मैले आमालाई पनि 'आमा म महिनावारी भएको भए त पिसाबजस्तै रगत आउनुपर्ने त' भनेकी थिएँ।
त्यति बेला फुपूले त्यस्तो नहुने भन्दै मलाई ट्वाइलेटमा लगेर प्याड दिनुभएको थियो। पहिलोपटक महिनावारी हुँदा मलाई २१ दिन लुकाउने कुरा गरेको सुनेकी थिएँ।
आफू मानसिक र शारीरिक रूपमा कमजोर भएको समयमा अरूको घरमा बस्दा मलाई गरेको व्यवहार चित्त बुझेको थिएन। म अत्तालिएकी थिएँ। त्यसैले जिद्दी गरेँ र ९ दिन लुकाएर मलाई घर लगिएको थियो।
स्कुलमा स्वास्थ्य शिक्षा दिने क्रममा महिनावारीबारे ज्ञान दिइएता पनि यति छिट्टै महिनावारी हुन्छ होला भनेर कहिले पनि सोचेकी थिइनँ। मैले त मभन्दा ठूलो दिदीहरूको उमेरमा पुगेपछि मात्रै महिनावारी हुन्छ होला भन्ने सोचेकी थिएँ। आफैं १२ वर्षको उमेरमा भएपछि मात्र यति छिटो पनि हुँदो रहेछ भनेर थाहा पाएँ।
हाम्रो घरपरिवारमा कहिल्यै महिनावारीबारे खुलेर ज्ञान र शिक्षा दिइँदैन थियो। महिनावारीबारे नेपाली समाजमा कोही खुलेर कुरा गर्दैन। बोल्नुपर्छ, छोरीहरूलाई महिनावारीबारे सिकाउनुपर्छ भन्ने ज्ञान नभएर हो कि!
म महिनावारी हुनुअगाडि मलाई आमा महिनावारी हुनुहुन्छ भनेर कहिल्यै थाहा भएन। म महिनावारी भएर भुइँमा सुत्न थालेदेखि बल्ल थाहा पाएँ। आमा पनि महिनावारी हुँदा भुइँमै सुत्नुहुन्थ्यो।
महिनावारी सामान्य शारीरिक प्रक्रिया हो। गर्मी हुँदा पसिना आउनु, दुःख हुँदा र चित्त दुख्दा आँसु आउनु जस्तै हो। किन शरीरमा आउने सामान्य परिवर्तनलाई मानिसहरूले झन् जटिल बनाउँदै गइरहेका होलान्? भन्नलाई हामी २१ औं शताब्दीमा हिँडिरहेका छौं तर किन सोच उही पुरानो?
हामी रक्सी चुरोट खुलेआम किनेर बोक्दै हिँडिरहेका छौं। प्याड किन्दा भने पत्रिकामा पोको पारेर लुकाएर दिन्छन्? कतिपटक त मैले किन यसरी दिएको भन्दै पोको निकालेर नचाउँदै समेत हिँडेकी छु।
म १३ वर्षकी हुँदा महिनावारीकै कारण चाडपर्व मनाउन पाउँदिनँ भन्ने चिन्ता धेरै थियो। दसैंमा टीका लगाउन पाउँदिन भन्ने डर भयो। त्यति बेलै साथीले महिनावारी रोक्ने औषधि पाइन्छ भनेकी थिई। मैले औषधि खाएँ तर मलाई शारीरिक रूपमा एकदमै कठिनाइ भयो। त्यसपछि कहिल्यै औषधि खाइनँ। ठूलो हुँदै गएपछि महिनावारी र धर्म संस्कृतिसँग कुनै सम्बन्ध छैन भन्ने बुझेँ। त्यसपछि महिनावारीमा पनि मैले टीका लगाएर चाडपर्व मनाउन थालेँ।
उमेर बढेसँगै मैले आमालाई पनि महिनावारीको धर्म र संस्कृतिसँग कुनै सम्बन्ध छैन भनेर सम्झाएँ। अहिले त उहाँ पनि बार्नु हुन्न।
मलाई याद छ म महिनावारी भएको पाँचौं पटकसम्म घरमा बार्ने चलन थियो। एकदिन बेलुकी खाना खाने समयमा सबै जना भित्र बसेर खाना खाइरहेका थिए। तर म मात्र ढोकामा बसेर खाना खाइरहेकी थिएँ। छुट्टै बसेर खाइरहेको देखेपछि बुबालाई चित्त दुखेछ। त्यसपछि बुबाले 'किन यसरी राखेको आफ्नो सन्तानलाई, भित्र सँगै बसेर खान दिनु, अहिलेको समयमा पनि यस्ता रूढिवादी कुराहरू बारेर हुन्छ' भनेपछि हाम्रो घरमा बार्ने चलन हटेको हो।
मलाई महिनावारी भएको समयमा कठिनाइ हुन्छ। मुड स्वीङ पनि हुन्छ। गाह्रो भइरहेका बेला कोही मान्छे आएर बोलिरहेको छ भने हान्दिऊँ जस्तो रिस उठ्छ। एकदमै झिँझो लाग्छ। तर मलाई थाहा हुँदैन। मैले गर्छु भनेर गरेकी पनि हुन्नँ। यही मुड स्वीङले गर्दा मलाई महिनावारी भएको समेत मन पर्दैन।
महिनावारी हुँदा सकभर म कामै गर्दिनँ। गर्नुपरे मेरो शतप्रतिशत दिएर काम गर्छु तर केही भयो भने बुझिदिनु है भनेर नजिकका साथीहरूलाई पहिल्यै जानकारी दिन्छु। उनीहरूसँग खुलेर कुरा गर्छु।
जुन गल्ती हामीले गर्यौं अब आउने पुस्तामा त्यो हुँदैन। अहिले हामीले महिनावारीबारे खुलेर कुराकानी गर्दा आउने पुस्तालाई सहज हुन्छ। हामीले बारेका छैनौं भने अब आउने पुस्ताले बार्दै बार्दैन। त्यसैले यो महिनावारीलाई धर्म र संस्कृतिसँग जोडेर बार्नु कुचलन हो।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)
४- अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
५- रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ)
६- एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ)
७- कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ)
८ - महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ)
९- म पहिलोपटक महिनावारी हुँदा आमाले खुसी भएर अरूलाई सुनाउनुभएको थियो (भिडिओ)
१०- डिआइजी मीरा चौधरी भन्छिन्- महिनावारी बार्न लगाउनु अधिकार हनन हो (भिडिओ)
११- 'नछुने भन्ने शब्द नै मलाई मनपरेको थिएन' (भिडिओ)
१२- 'महिनावारीबारे पुरूषले पनि बुझ्नुपर्छ' (भिडिओ)