यसपालि 'महिनावारीका कुरा' मा हामीले रंगकर्मी आकांक्षा कार्कीको अनुभव समेटेका छौं। ३२ वर्षीया आकांक्षाले १४ वर्ष हुँदादेखि नै स्कुलमा नाटक खेल्थिन्।
रातो बंगलामा स्कुलिङ र ए लेभल पढेकी आकांक्षाले भारतको बेंगलुरूस्थित क्राइस्ट युनिभर्सिटीबाट साहित्य, मनोविज्ञान तथा थिएटरमा डिप्लोमा गरिन्। पढ्ने क्रममा हरेक फेस्टिभलमा नाटक मञ्चन हुँदा उनी विभिन्न ठाउँमा पुग्थिन्। उनले बेंगलुरूमा अध्ययन गर्दा नै थुप्रै नाटकमा अभिनय र निर्देशन गरेकी थिइन्। भुइँचालोपछि नेपाल आएर रंगकर्ममा निरन्तर सक्रिय आकांक्षाले आफ्नै घरमा कौसी थिएटर खोलेकी छन्।
सेतोपाटीका मन्दिरा घिमिरेले आकांक्षासँग गरेको कुराकानीमा आधारित लेख यहाँ प्रस्तुत छ।
***
म पहिलोपटक महिनावारी ११ वर्षको हुँदा भएको थिएँ। मलाई त्यो क्षण राम्ररी याद छ किनभने त्यो दिन सरस्वती पूजा परेको थियो। मन्दिर जान र पूजा गर्न दिँदैनन् भनेर कसैलाई पनि भनिनँ। जान पाइनँ भने चकले मन्दिरमा नाम लेख्न पाउँदिनँ भनेर कसैलाई पनि भनिनँ।
महिनावारी भएको थाहा पाएपछि आमाको दराजबाट खुसुक्क प्याड चोरेर लगाएँ। र मन्दिर पनि गएँ। भोलिपल्ट आमालाई भनेँ। अरू ठाउँमा लुकाउने चलन भएता पनि आमाले यस्ता कुरा नमान्ने हुँदा मलाई लुकाइएको थिएन। म महिनावारी भएको थाहा पाएपछि खुसी भएर आमाले अरूलाई सुनाउनुभएको थियो। पहिलोपटक महिनावारी हुँदा जन्मदिनमा भन्दा धेरै गिफ्ट पाएको थिएँ।
पहिले महिनावारीलाई धेरैले लाज र लुकाउन पर्ने कुरामा रूपमा लिने गर्थे तर अहिले सबै जना खुलेर कुरा गर्ने गर्छन्।
पहिले म सानो हुँदा लाजको विषयको रूपमा हेरिएको कारण हामी पनि कुराकानी गर्दा लजाउँथ्यौं तर अहिलेका बहिनीहरू भाग्यमानी हुनुहुन्छ उहाँहरू सहजै कुराकानी गर्न सक्नुहुन्छ। सोही अनुरूप सिकाइएको छ। खासमा महिनावारीलाई सामान्य रूपमा लिएर यसबारे खुलेर कुरा गर्न सक्नु र त्यो वातावरण पाउनु हाम्रो आधारभूत अधिकार हो तर पनि उहाँहरूले महिनावारीबारे घरपरिवारमा खुलेर गर्न सक्ने स्थिति आउँदा पनि खुसी हुनुपरेको छ।
म संयुक्त परिवारमा हुर्किएकी हुँ। हाम्रो घरमा पितृसत्तात्मक सोच हाबी थियो नै। सानो हुँदा सबैजना सोफामा बसेर टिभी हेर्नुहुन्थ्यो तर आमाहरू कहिलेकाहीँ ढोकाबाहिर मुडा राखेर झ्यालबाहिरबाटै हेर्नुहुन्थ्यो। सानो हुँदा त के हत्याराजस्तो गरेर हेरेको होला भनेर सोच्थें। चार दिनपछि फेरि ढोकासम्म आउनुहुन्थ्यो। तर पछि थाहा पाए उहाँहरू महिनावारी भएका कारण त्यसरी बस्नुभएको रहेछ।
यो कुराहरू आमाको समयमा लागू भएता पनि हामीमा आउँदा भने केही हदसम्म परिवर्तन भयो। म र मेरो दिदीहरू महिनावारी भएपछि ढोकासम्म जान पाउँथ्यौं। तर जब हजुरआमा बित्नुभयो यी सब कुरा धेरै हदसम्म हटे। पछि हजुरबाले नै हामीलाई आइज यही बस् भनेर भन्नुभयो। जसले गर्दा हजुरबुवा परिवर्तनशील हुनुहन्छ भनेर दर्साउँछ पनि।
मेरो परिवारमै पनि कसैले बार्नुहुन्थ्यो, कसैले बार्नु हुँदैनथ्यो। मेरी आमा आफैं एक डाक्टर भएर होला उहाँले कहिले पनि हामीले बार्नुपर्छ भनेर सिकाउनुभएन। त्यही भएर हामीमा त्यही ज्ञान भयो। तर मेरो परिवारमै अझ पनि केही सदस्यले यस विषयलाई गम्भीर रूपमा लिनुहुन्छ।
बार्ने र नबार्ने कुराले कसैको नैतिकता, बानी व्यवहार आचारमा केही पनि असर गर्दैन किनभने ऊ आफ्नो पढाइ, हुर्काइ, सीप र कामले आफ्नो बाटोमा हिँडिरहेको हुन्छ। यी सबै पहिलेदेखि नै चलिआएका अन्धविश्वास हुन्। यसले कुनै पनि कुरा निर्धारित गर्दैन।
यो महिनावारीको बारेमा कुरा गर्न अझै पनि मानिसहरू हिच्किचाउनुहुन्छ। कसैलाई किन त भनेर प्रश्न गर्यो भने कुनै पनि वैज्ञानिक तर्कहरू हुँदैनन्। यतिकै पहिलेदेखि नै बारिरहेको कारण बारेको भन्ने तर्क गर्नुहुन्छ जुन तार्किक छैन अक्मक्किनुहन्छ। यो सायद पुस्तापिच्छे हुँदै जाने परिवर्तन हुँदै जाने कुरा होला।
हामी पितृसत्तात्मक सोचबाट हुर्किंदै गयौं तर समयक्रमसँगै हाम्रो जीवन, शिक्षा, संगत हुर्काइभन्दा भिन्न हुन गयो। हामीलाई राइट वे अफ लिभिङ भन्ने कुरा सिकाइयो।
महिनावारी हुनु भनेको मेरो व्यक्तिगत कुरा हो। यसले कसैलाई फरक पर्नु हुँदैन। म महिनावारी हुँदा म कसैलाई थाहा नै दिन्नँ त्यो दिन जरूरी पनि छैन। म महिनावारी भएको कुरा मेरो श्रीमानलाई बाहेक कसैलाई थाहा दिन्नँ। किनभने थाहा दिन जरूरी ठान्दिनँ र अरूले पनि थाहा पाउँदैन सायद मलाई महिनावारीको समय शारीरिक रूपमा कठिनाइ नहुने भएर पनि होला। मलाई महिनावारी हुनुभन्दा अगाडि रोएकै हुन्छु। पछि थाहा पाएँ मेरो मुड स्विङ (पिएमएस) हुने गर्दो रहेछ त्यति बेला।
हाम्रो समाजमा जुन चलन चल्तीका कुरा हो यसलाई मान्नुपर्छ भन्ने विचार छ। अब यसलाई तोड्नु पर्छ। जुन कुरा राम्रो छ त्यसलाई त्यतिकै राखेर महिनावारी बार्ने जस्ता कुरा राम्रा होइनन् भनेर तोड्न जरूरी छ। सबैले सिक्न जरूरी छ। मान्छेले सबै कुरा सिक्दै जाने हो, तबमात्र परिवर्तन हुन्छ।
यो पनिः
१- एलिना चौहान भन्छिन्- हाम्रो घरमा भाइले बहिनीलाई प्याड किनेर ल्याइदिन्छ (भिडिओ)
२- कमेडियन सीता भन्छिन्- पहिले महिनावारी हुँदा कुरा काट्थे, अचेल केक काट्छन्! (भिडिओ)
३- सृष्टि केसी भन्छिन्- कतिले त तिमीहरू पनि महिनावारी हुन्छौ र भनेर सोध्छन् (भिडिओ)
४- अल्ट्रा धावक मीरा भन्छिन्- महिनावारी बारेको कहिल्यै थाहा पाइनँ (भिडिओ)
५- रंगकर्मी सिर्जना भन्छिन्- महिनावारी भएको ६ महिनासम्म कसैलाई भनिनँ (भिडिओ)
६- एलिन भण्डारी भन्छन्- महिनावारीले मलाई तँ पुरूष होइन, महिला होस् भनेझैं लाग्थ्यो (भिडिओ)
७- कलाकार बेनिशा हमाल भन्छिन्- महिनावारी भएका बेला क्यामरा छोएर सुटिङ रोकियोसम्म भन्थे! (भिडिओ)
८ - महिनावारीबारे कुरा गर्न लजाउनु हुँदैन (भिडिओ)