दाङका स्थानीयले सोमबार सडक डिभिजन कार्यालय दाङको मूल गेटमा धर्ना दिएका छन्।
घोराही उपमहानगरपालिकाको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक नबनेको भन्दै स्थानीयले कार्यालयमा धर्ना दिएका हुन्। लामो समयसम्म पनि निर्माण कार्य सम्पन्न नगर्दा दु:ख पाएको भन्दै स्थानीयले एक घन्टा धर्ना दिएका हुन्।
उक्त सडकखण्डको निर्माण काम २०७० साल देखि नै सुरू भएको थियो। सडकखण्डको निर्माण काम सम्पन्न गर्नुपर्ने माग गर्दै उनीहरूले कार्यालयको मूल गेटमा तालाबन्दी समेत गरेका थिए।
कार्यालय प्रमुख लागयतलाई पनि कार्यालयमा प्रवेश दिनबाट उनीहरूले रोकेका थिए।
यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेटेर समस्याको बारेमा जानकारी गराएको तर कामले सार्थकता नपाए पछि बाध्य भएर सडकमा उत्रिनु परेको सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले बताए।
ठेकेदार कम्पनीलाई कारबाहीको माग पनि रहेको उनले बताए।
मागको सुनुवाइ नभए थप आन्दोलन गर्ने पनि उनीहरूले चेतावनी दिएका छन्।
नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, स्थानीय टोलका अध्यक्ष शिवशंकर देवकोटालगायतले धर्ना दिएका थिए।
ताला लगाउँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरूले नाराबाजी समेत गरेका थिए।