नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ घटनामा पाँच जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार स्पट फिक्सिङमा संलग्न पाँच जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले १२ जनालाई प्रतिवादी बनाएको थियो। तर सरकारी वकिल कार्यालयले उनीहरूको नाम, थर, वतन सबै नखुलेको हुँदा अहिले नै मुद्दा दर्ता नगरिएको न्यौपानेले बताए।
कार्यालयले जनकपुर रोयल्सका खेलाडी मोहम्मद आदिल आलम, पूर्व खेलाडी महबुब आलम, नितेश गुप्ता, फरार रहेका नविक कँडेल र रवि माझीविरूद्ध मुद्दा दायर गरेको छ।
सिआइबीले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह र विकास ध्यानीलाई पनि प्रतिवादी बनाएको थियो।
महबुब आलमले सिआइबीलाई दिएको बयानमा आफूले दुई जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव गरेको बताएका छन्।
उनलाई पनि छिमेकी पर्ने रवि माझीले ह्वाट्स एपमार्फत् सम्पर्क गरेको बयानमा उल्लेख छ। आलमले पोखरा एभेन्जर्सका आरिफ शेख र फार वेष्ट युनाइटेडका खेलाडी महमद हासिम अन्सारीलाई प्रस्ताव गरेका थिए।
‘उनीहरूले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिएमा ६ लाख रुपैयाँ उपलब्ध गराउने भनेर जानकारी गराइदिनु भनेकाले मैले आरिफ शेखलाई सम्पर्क गरी उक्त प्रस्तावबारे जानकारी गराएको थिएँ। तर शेखले तत्काल निर्णय दिएनन्,’ बयानमा उनले भनेका छन्।
उनले रवि माझी आफैंलाई पनि शेखसँग कुरा गर्न लगाएका थिए। पछि महबुबले बुझ्दा प्रस्ताव अस्वीकार गरेका थिए।
‘उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि मेसेन्जरमा बताएको थिएँ,’ उनले भनेका छन्।
उनलाई पनि खेलाडीहरूसँग सम्पर्क गराएमा प्रतिम्याच दुई लाख रुपैयाँ दिने भनिएको थियो।
त्यसैगरी उनले महमद हासिम अन्सारीलाई पनि प्रस्ताव गरेका थिए। तर उनलाई ४ लाख रुपैयाँ दिने भनिएको थियो। तर उनले पनि उक्त प्रस्तावको जवाफ फर्काएनन्। उनीहरूबीच भएको फोनमा भएको कुराकानीको रेकर्ड अन्सारीले गरेका थिए।
सिआइबीले उक्त आवाजको परीक्षणसमेत गराएको छ। परीक्षणले पनि आवाज महबुबकै भएको हुँदा प्रमाणको रूपमा पेश गरिएको छ।
उनले अन्य खेलाडीलाई भने प्रस्ताव नगरेको पनि उनले बताएका छन्।
जनकपुर रोयल्सका खेलाडी मोहमद आदिल आलमले भने इन्कारी बयान दिएका छन्। आफूलाई स्पट फिक्सिङको प्रस्ताव आएको भए पनि फिक्सिङ नगरेको दाबी गरेका छन।
उनलाई समिर शेख भन्ने व्यक्तिले स्पट फिक्सिङको प्रस्ताव गरेका थिए। उनले ह्वाट्स एपमा कल गरी भनेका थिए,‘मेरो लागि एउटा नो बल र वाइड बल फालिदेऊ त्यसबापत् एक लाख रकम दिन्छु।’
तर आदिलले तत्कालै उक्त प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन्। स्पट फिक्सिङबारे नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई पनि जानकारी गराएको उनले बताएका छन्।
उनले आफ्नो बायाँ भागको कम्मरको नशामा समस्या आएको हुँदा नो बल र वाइड बल फालेको बताएका छन्।
‘काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको १२औं ओभर र जनकपुर रोयल्स र फार वेष्ट युनाइटे बीचको खेलको छैठौं ओभरमा दु:खाइका कारण नो बल र वाइड बल भएको हो,’ उनले भनेका छन्, ‘मैले समिर शेखले भनेअनुसार बलिङ गरेको होइन। ह्वाटस् एपमार्फत् गरेको प्रस्ताव मजाक होला भनेर गम्भीरतापूर्वक लिएको थिइनँ।’
यसबारे सामाजिक सञ्जालमा बाहिर आएपछि आफूले एन्टी करप्सन म्यानेजर वीर सिंहलाई जानकारी गराएको पनि बताए।
पक्राउ परेका नितेश गुप्ताले वीरेन्द्र साहलाई आरिफ शेखलाई भेट गराएको देखिएको छ।
उनीहरूले पुस ७ गते हात्तीवनमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर आरिफ शेखसँग भेट गरेका थिए।
त्यहाँ भेट्दा हिट विकेटको लागि प्रस्ताव गरेका थिए। तर शेखले आफूहरूको प्रस्ताव अस्वीकार गरी तत्काल गाली गरेर पठाएको पनि उनले बयानमा भनेका छन
गुप्ताले आफ्ना सानो बुवा नाता पर्नेलाई शेखसँग भेटाइदिएको मात्रै बताइका छन्।
उनीहरूमाथि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ र दफा ३२ को कसूर गरेको हुँदा सजायको मागदाबी गरेको छ।
प्रहरीले प्रतिवादी बनाएका सात जनाको हकमा भने पक्राउ परेपछि मिलेमतो गरी खेलेको प्रमाणबाट पुष्टि भएमा र आर्थिक विश्लेषणबाट कम्पनीहरूले टिममा लगानी गरेको रकमको स्रोत नखुलेमा वा आर्थिक कारोबार अपनाउनु पर्ने कार्यविधि पालना नगरेको प्रमाणसहित पुष्टि भएमा अभियोगपत्र पेश गरिने उल्लेख छ।
सम्बन्धित समाचार:
नेपाल टी-२० लिगको स्पट फिक्सिङमा सिआइबीले १२ जनालाई बनायो प्रतिवादी
नेपाल टी-२० लिग फिक्सिङका प्रमुख योजनाकार भारतीय नागरिक जतिन!
नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने एक जना पक्राउल
नेपाल टी-२० लिगमा फिक्सिङ: आदिलले गरेका थिए यी दुई खेलमा स्पट फिक्सिङ
हेर्नुहोस् स्पट फिक्सिङ आशंका गरिएको टी-२० लिगका दुई ओभरको भिडिओ
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ
टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष
सचिनले कमेन्ट्री-बक्सबाट देखेको म्याच-फिक्सिङ (भिडिओ)
ज्ञानेन्द्र मल्ल भन्छन्- हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो
फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ)