गाउँगाउँमा डुलेर त्यहाँका पर्यटकीय सम्भावना उजागर गर्दै र स्थानीय पर्यटनकर्मीलाई हौस्याउँदै ग्रामीण पर्यटनका पक्षमा पैरवी गर्दै आएका पत्रकार अमृत भादगाउँले पुरस्कृत भएका छन्।
उनलाई नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीले पर्यटन शुभारम्भ भएको रजत महोत्सवका अवसरमा शुक्रबार २५ हजार नगदसहित पुरस्कृत गरेको हो। सिरुबारीबासीका तर्फबाट महोत्सवका प्रमुख अतिथि पर्यटन मन्त्री सुदन किराँतीले पत्रकार भादगाउँलेलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका हुन्।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ मा अवस्थित सिरुबारीमा भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवम् अगुवाईमा वि.सं. २०५४ सालदेखि सामुदायिक होमस्टे सुविधासहित गाउँ पर्यटनको अभ्यास हुँदै आएको छ।
त्यही गाउँमा पुगेर भादगाउँलेले वि.सं. २०५७ सालदेखि विभिन्न सञ्चार माध्यममा लेख तथा समाचार लेख्दै आएका छन्।
ग्रामीण पर्यटनको नमुना पाठशालाका रुपमा सिरुबारी चम्किएको छ। सिरुबारीलाई पच्छयाउँदै नेपालभर होमस्टेको अभ्यास हुँदै आएको छ।
‘गाउँ पर्यटनका नायक क्याप्टेन रुद्रमानको जीवनकथा र सिरुबारीको सफलता अब स्कुल तथा कलेजका पाठ्यक्रममा समाबेश हुनु पर्छ’, पुरस्कार ग्रहणपछि पत्रकार भादगाउँले भन्छन्, ‘यसमा सरकारको ध्यान जानु पर्छ।’