नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान पूरा गरेको छ।
स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएको सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाले जानकारी दिए।
सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।
प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो। स्पट फिक्सिङमा जतिनलाई नै मुख्य अभियुक्त बनाएको एसपी थापाले बताए।
नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो। यसको मुख्य प्रायोजक पनि बेटिङ कम्पनी वान एक्स बेटबाट सञ्चालन हुने वान एक्स ब्याट थियो। जसले गर्दा पनि लिगमा बेटिङ र स्पट फिक्सिङ भएको शंका भएको थियो।
सिआइबीले लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्।
गुप्ताले आरिफ शेखलाई फिक्सिङको प्रस्ताव गरेका थिए। शेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट संघ (क्यान)लाई खबर गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्। उनी पोखरा एभेन्जर्सबाट खेलेका थिए।
यता पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको अनुसन्धानबाट खुलेको थियो। प्रस्तावअनुसार नै आदिलले दुई वटा खेलमै स्पट फिक्सिङ गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले बताएको थियो।
उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो बल फालेका थिए। त्यस्तै फेरि अर्को बल उनले वाइड फालेको उक्त खेलको भिडिओमा देखिएको छ।
पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो बल फालेका थिए।
त्यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड बल फालेका थिए। पूर्वखेलाडी रहेका मेहबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।
पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको हो। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।
सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रतिवादीलाई सजायको मागदाबी गरेको छ।
‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन,’ उक्त ऐनको दफा ३१ मा उल्लेख छ।
त्यस्तै खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। यसमा कुनै रकम लेनदेन भएको भएमा जफतसमेत गर्ने कानुनी व्यवस्था छ।
यस्तै ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।
सम्बन्धित समाचार:
नेपाल टी-२० लिग फिक्सिङका प्रमुख योजनाकार भारतीय नागरिक जतिन!
नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ प्रस्ताव गर्ने एक जना पक्राउल
नेपाल टी-२० लिगमा फिक्सिङ: आदिलले गरेका थिए यी दुई खेलमा स्पट फिक्सिङ
हेर्नुहोस् स्पट फिक्सिङ आशंका गरिएको टी-२० लिगका दुई ओभरको भिडिओ
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ
टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै
नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष
सचिनले कमेन्ट्री-बक्सबाट देखेको म्याच-फिक्सिङ (भिडिओ)
ज्ञानेन्द्र मल्ल भन्छन्- हाम्रो टिमका साथीलाई पनि ‘फिक्सिङ’ को प्रस्ताव आएको थियो
फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग (भिडिओ)