लुपस कुनै पनि अंगमा असर गर्नसक्ने बाथ रोग हो।
लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्। जब शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिले शरीरको आफ्नै अंगलाई बिगार्यो भने त्यसलाई बाथ रोग अर्थात लुपस भनिन्छ।
मिर्गौला, नसा, रगतलगायतमा लुपसले असर गर्नसक्छ। लुपस एउटा जटिल समस्या हो। रोगसँग लड्ने शक्तिले आफूलाई बिगारेपछि हुने समस्यालाई लुपस भएको भनेर बुझ्न सकिन्छ।
यो रोग युवा अवस्थामा तथा महिलामा सुरू भई लामो समयसम्म रहने दीर्घकालीन रोग हो। यो पुरुषको तुलनामा महिलालाई धेरै हुन्छ। पुरूषलाई कम हुन्छ। महिलालाई के कारणले धेरै हुन्छ भनेर अझैसम्म पत्ता लागेको छैन। भर्खर जन्मेको बच्चादेख ठूलो उमेर समूहका व्यक्तिलाई समेत लुपस हुन्छ।
यो रोग लागेमा हातका जोर्नी दुख्ने, छालामा पुतली आकारको दाग आउने, मुखमा घाउ आउने, चिलाउने, खटिरा आउने, घाममा बाहिर निस्कन गाह्रो हुने, केस झर्नेजस्ता लक्षण देखिन्छन्। शरीरको परिपक्व र आवश्यक कोष नष्ट भई रक्तकोषिकाको कमी हुने, मिर्गौलामा असर गर्ने, टाउको दुख्ने, धेरै सोचाइमा पर्ने, छारे रोग लाग्ने, कुनै कुराको निर्णय छिटो लिन नसक्ने, घरिघरि रिस उठ्ने, आँखा रातो तथा सुक्खा हुने, मुटु रोग लाग्ने, मुटुको बाहिरी भाग र फोक्सोमा पानी जम्ने, अल्छीपना हुने, तौल घट्नेजस्ता समस्या हुन्छन्।
लक्षणका आधारमा लुपसको पहिचान गर्नुपर्छ। त्यसकै आधारमा चिकित्सकले परिक्षण गर्छन्। लुपस भनेको नियन्त्रणमा राख्ने रोग हो किनकि, यो पूर्ण रूपमा निको हुँदैन। यसको नियमित औषधि खानुपर्छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ।
अर्को कुरा औषधीले कुनै साइड इफेक्ट गरेको छ कि भनेर समेत परिक्षण गर्नुपर्छ। लुपस सुरुमै थाहा भयो भने नियन्त्रण गर्न सजिलो हुन्छ। तर जति धेरै ढिलो भने अरू अंगहरूलाई असर गर्छ।
यो बाथ रोगका बिरामीले कुनै पनि खानेकुरा बार्न आवश्यक छैन। तर शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन आवश्यक छ। चिल्लो कम भएको खाने कुरा, फलफूल, हरियो सागपात, तरकारी, रङ नहालिएको खैरो चामल र थौरै मात्रामा माछा–मासु खानुपर्छ। त्यसैगरी नुक कम खाने, कोलस्ट्रोल रहेका बिरामीले कम बोसो या कम चिल्लो भएको खाना खाने र क्याल्सियम र भिटामिन डी स्टोरोइड औषधि खानुपर्छ। सकेसम्म घाममा बस्नु हुँदैन। किनकि घामले असर गरेको विभिन्न अनुसन्धानले देखाएको छ।
लुपसका लक्षण, यसको उपचार लगायतका विषयमा हामीले अल्का अस्पताल र नर्भिक अस्पतालमा कार्यरत डा. अभिलाषा शाहसँग भिडिओ कुराकानी गरेका छौ।
हेर्नुहोस् भिडिओ