प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।
त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ।
यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्।
रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।
पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्।
यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।
तस्बिरहरू: रोहित महतो