कमेडियन अपूर्वक्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रवक्ता दीपक दाहालले जानकारी दिए।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो। बिहीबार अदालतले उनको बयान लिएको थियो। यस्तै थुनछेक बहसपछि अदालतले उनलाई छाड्न भनेको हो। ्
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
यी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा दर्ता गरेको थियो। तर अदालतले हेर्न नभ्याएपछि बिहीबार बयान लिन लागेको हो।
सरकारी वकिलको कार्यालयले अपूर्वक्षितिजलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरेको छ।
दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ। दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।
सरकारी वकिल कार्यालयका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
अपूर्वक्षितिजले सरकारी वकिल कार्यालयमा दिएको बयानमा अपमानजनक वा अमानविय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदायमा द्वेष, रिस आवेग तथा खल्बयाउने उद्देश्यले कमेडी नगरेको बताएका छन्।
‘मैले नेवार समुदायहरूको भाषा, धर्म, संस्कृति, परम्परा प्रथा रितिस्थिती, रहन सहन समेतको विषयलाई लिएर अपमानजनक वा अमानविय व्यवहार, जातिय सद्भाब तथा सम्प्रदायमा द्वेष रिस आवेग तथा जातिय सद्भाब तथा सम्प्रदाय खल्बल्याई जातीय आवेग तथा उत्तेजना फैलाउने उद्देश्यले उक्त शब्दहरू प्रयोग गरेको होइन,’ उनले भनेका छन्।
तारेखमा छुटेका उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले पुन: हिरासतमा लियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।
उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो।
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।
'नेवारको परम्परा' शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।
त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।
सम्बन्धित समाचार:
अपूर्वक्षितिज सिंहलाई ५ वर्षसम्म कैद माग्दै अदालतमा मुद्दा
अपूर्व क्षितिज सिंहमाथि प्रहरीले साँधेको पूर्वाग्रह
कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्यो प्रहरीले
तपाईंहरूले देखेको १० प्रतिशत मात्रै हो, एक दिन बोल्छु: अपूर्व क्षितिज सिंह
तारेखमा रिहा भए कमेडियन अपूर्व क्षितिज सिंह
अभियन्ताले ‘क्षमा दियौं’ भनेका अपूर्वलाई हिरासतमा राख्न किन म्याद थप्यो प्रहरीले?
कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
संसदमा एमालेले भन्यो- कलाकार अपूर्व क्षितिजलाई रिहाइ गरियोस्
कमेडियन अपूर्व क्षितिज सिंहलाई वीर अस्पताल लगियो
कमेडियन अपूर्वक्षितिजलाई चार वटा मुद्दा, अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
आज पनि छुटेनन् कमेडियन अपूर्व क्षितिज सिंह
हिरासतबाट छुट्ने भए कमेडियन अपूर्वक्षितिज सिंह
कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै
अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य
कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?
कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति
कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा
हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह
कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी