तीन वर्षअघिको एक बिहान सत्यमोहन जोशीलाई भेट्दा हामीले सोधेका थियौं, 'तपाईंको इच्छा के छ?'
उनले भनेका थिए, 'सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।'
सय वर्ष पूरा गर्ने उनको इच्छा पूरा भयो। उनले २०७९ वैशाख ३० गते आफ्नो १०३औं जन्मदिन मनाए।
त्यही भेटमा उनले आफ्नो अर्को इच्छा पनि व्यक्त गरेका थिए, 'मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ।'
'यो त कसरी सम्भव होला र?' हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, 'असम्भव चाहिँ देखेको छैन, छेउमै रवीन्द्रनाथ टैगोरले पाउन सक्छन् भने कुनै नेपालीले किन पाउन नसक्लान्?'
सत्यमोहनको यो इच्छा असम्भव नहोला तर त्यो घडी आफ्नै आँखाले हेर्ने उनको इच्छा भने अब कहिल्यै पूरा हुने छैन।
नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिँदै तीनपटक मदन पुरस्कार जितेका 'शताब्दी पुरूष' सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा आइतबार बिहान निधन भएको छ।
जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। असोज ७ गते उनलाई खानामा अरूचि, शारीरिक कमजोरी लगायत समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्याका साथै डेंगी पनि देखियो। करिब दुई साताको उपचारपछि उनी दोहोरो कुराकानी गर्न सक्ने भएका थिए। तर शुक्रबार शरीरमा अक्सिजनको मात्रा घटेपछि उनी फेरि सिकिस्त भएका थिए।
जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो।
त्यो सत्यमोहन जोशी भन्ने को रहेछ!
बिक्रम सम्बत् २०१६ सालको कुरा हो। नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एकदिन अनौठो खबर आइपुग्यो- ‘पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त’।
त्यतिबेला यो नयाँ अड्डा खुलेको थियो। कतिसम्म नयाँ भने, त्योभन्दा पहिले संस्कृति भन्ने शब्द नै प्रचलनमा थिएन। निकै पछिसम्म धेरै मानिसले संस्कृतिको अर्थ बुझ्दैन थिए।
सत्यमोहनलाई चाहिँ आफूसँग दुरूस्त नाम मिल्ने अर्को सत्यमोहन जोशी को रहेछ भन्ने जिज्ञासा थियो।
उनी त्यो बेला खरदार थिए। सञ्चय कोष काटेर महिनाको ४२ रूपैयाँ दाम थाप्ने एक ‘नन् गजेटेड’ कर्मचारी। त्यो बेला उनी ‘गजेटेड अफिसर’ अर्थात् विभागकै डाइरेक्टरको ओहोदाबारे चिताउन पनि सक्दैन थिए।
त्यही बेला एक मान्छे ‘ए सत्यमोहन तिमी डाइरेक्टर भयौ’ भन्दै सुनाउन आए।
‘चुप चुप, नचाहिने कुरा नगर,’ उनी त्यसरी हल्ला गर्न आउनेलाई भन्थे, ‘बरू त्यो अर्को को मान्छेको नाम सत्यमोहन जोशी रहेछ!’
उता सायद सरकार सत्यमोहन जोशीलाई कुरिरहेको थियो। यता सत्यमोहन आफैं पनि सत्यमोहन जोशीलाई नै पर्खिरहेका थिए।
कुर्दा–कुर्दा केही दिन बिते, कुनै सत्यमोहन जोशी त्यो नामको दाबी गर्न आएन।
‘अब त जानै पर्यो बाबा’ भनेर उनी बडो अप्ठ्यारोसँग निस्के।
त्यति बेला वसन्तपुरमा जनसंख्या तथा केन्द्रीय तथ्यांक विभाग थियो। त्यहाँ कांग्रेसका भर्खरका ठिटो परशुनारायण चौधरी शिक्षामन्त्री थिए। उनकै मातहत यो नयाँ पुरातत्व तथा संस्कृति विभाग थियो।
त्यस दिन सत्यमोहनको मन्त्री चौधरीसँग भेट भएन। उनी कतै बैठकमा गएका थिए। त्यसपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायकहाँ पुगे। सूर्यप्रसाद त्यो चुनावमा हारेका थिए। हारेकै भए पनि उनलाई गृहमन्त्री बनाइएको थियो।
सत्यमोहनले आफूसँग मिल्दो नामको मान्छे डाइरेक्टर नियुक्तिको खबर आएकाले अप्ठ्यारो परेको बताए।
सूर्यप्रसाद हाँसे। हाँस्दाहाँस्दै प्रश्न गरे, ‘त्यो हाम्रो लोकसंस्कृति भन्ने ग्रन्थ लेख्ने मान्छे को हो?’
सत्यमोहनले भने, ‘त्यो त मैले नै लेखेको हुँ।’
‘ओहो! त्यसो भए तपाईंलाई नै दिएको डाइरेक्टर पद हो यो,’ गृहमन्त्रीले भने।
उनी एकछिन रनभुल्ल परे। यो कस्तो दायित्व हो? त्यहाँ गएर के गर्ने? यस्ता प्रश्नले उनलाई भित्रभित्रै पिरोल्यो। जुन पुस्तकको चर्चा गृहमन्त्रीले गरिरहेका थिए, त्यसमा आफ्नो खासै योगदान छैन भन्ने उनलाई लाग्थ्यो।
सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'त्यो किताब मेरो होइन, गाउँघरका मान्छेहरूको थियो। मैले त उनीहरूका गीतलाई अलिकति साहित्यिक रूपले मिलाउने काम मात्र गरेको थिएँ।'
त्यही कामको प्रशंसा गर्दै उनलाई पहिलोपटक मदन पुरस्कार मात्र दिइएन, त्यही पुस्तकका कारण उनले पुरातत्व तथा संस्कृति विभागको निर्देशकको जिम्मेवारी पनि पाए।
२०१७ पुस १ को शाही 'कू'
राजा महेन्द्रले २०१७ पुस १ गते शासनसत्ता हातमा लिएको दुई महिनापछि फागुन २० गते गृह मन्त्रालयबाट एउटा पुर्जी आयो। त्यसमा सत्यमोहनलाई पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरबाट हटाइएको थियो।
यसको जानकारी पाएको भोलिपल्टै उनी नवनियुक्त गृहमन्त्री विश्वबन्धु थापालाई भेट्न गए।
गृहमन्त्री थापाले ‘हुने कुरा भइसक्यो। अब के गर्ने? राजालाई निवेदन गरे हुन्छ’ भनेर सुनाए।
उनले राजालाई निवेदन दिएनन्।
पछि उति बेला खोसिएका धेरै मानिस फेरि फिर्ता गरिए पनि सत्यमोहनलाई पुन: नियुक्त गरिएन। उनले कसैसँग सोधीखोजी पनि गरेनन्।
विश्वबन्धुले सत्यमोहनको ठाउँमा आफ्नै भतिजा रमेशजंग थापालाई नियुक्त गरिदिएका थिए। रमेशजंग पछि रक्षा सचिवदेखि लिएर निर्वाचन आयुक्तसम्म पनि भए।
'मानिस अहिले सबै बिग्रेको भन्छन्। मैले देख्दा त बिग्रेको त्यसै बेलादेखि हो,' सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'जतिसुकै इमानदारीपूर्वक काम गरे पनि, कतै कुनै लागलपेट नभएको मानिसलाई अचानक बर्खास्त गरिदिने र आफ्ना मानिसलाई भर्ति गर्ने काम उतिबेलैदेखि भएको हो।'
उनले अगाडि भने, 'आफ्नै पार्टीका तर्फबाट नियुक्ति दिएका मानिसलाई त त्यति बेला निकालेका मन्त्रीहरूले म कुनै पार्टीमा नलागेको मानिसलाई झन् किन फिर्ता बोलाउँथे?'
त्यसैबीच सत्यमोहनले लेखेको अर्को पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ ले फेरि मदन पुरस्कार पाएको थियो। एउटा भेटघाटमा राजा महेन्द्रले उनलाई त्यस पुस्तक निम्ति धन्यवाद दिएका थिए।
त्यति बेलै चीनको पेकिङ रेडिओमा हिन्दुस्तानको भाषा पढाउने, बंगाली पढाउने मानिसहरू मागिरहेकै क्रममा नेपाली पनि पढाउने मानिसको खोजी भइरहेको रहेछ। उता चीन र हिन्दुस्तानको लडाइँ भएकाले उनीहरूको सम्बन्ध राम्रो थिएन। नेपालबाट मागेकोमा पनि चूडानाथ भट्टराई, मोहनहिमांशु थापा र सत्यमोहनबीच प्रतिस्पर्धा भएको थियो। दुई जना पढेलेखेका विद्वानका बीचमा स्नातक पनि नगरेका सत्यमोहन परेका थिए।
'मेरो जागिर खोसिएकाले कतै जाने ठाउँ पनि थिएन, जे पर्ला पर्ला भनेर प्रतिस्पर्धा गरेको थिएँ। पछि त छान्ने बेला चिनियाँहरूलाई के परेछ, मेरै नाम पो छनौट गरेर पठाए,' सत्यमोहनले भने।
यसरी चीनले बोलाएपछि उनी चार वर्ष आफूसँगै नेपाली भाषा लिएर उता गए। त्यस अवधिमा त्यहाँका चिनियाँलाई पेकिङ रेडिओमा नेपाली भाषाको कार्यक्रम चलाउन सक्ने गरी तयार पारे।
त्यसपछि नेपाल फर्किएपछि उनी प्रज्ञा प्रतिष्ठानमा सह-प्राज्ञका रूपमा प्रवेश गरे।
यहाँबाट उनको प्राज्ञिक जीवन सुरू भयो।
खस सभ्यता खोज्दै महाविकट कर्णाली
२०२६ सालको कुरा हो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको दोस्रो प्राज्ञ परिषद गठन भयो। परिषदमा सत्यमोहनसहित आठ जना सह-प्राज्ञ, चार जना प्राज्ञ, बालकृष्ण सम उपकुलपति र केदारमान व्यथित कुलपति थिए।
कुलपति व्यथितले एक दिन संस्कृतिसम्बन्धी काम गर्ने प्राज्ञहरूलाई बोलाए र ‘तपाईंहरूलाई संस्कृति क्षेत्रमा के के काम गर्ने इच्छा छ?’ भनेर सोधे।
त्यो बेला संस्कृतिमा काम गर्न चार जनाको समूह थियो। समूहको नेतृत्व सूर्यविक्रम ज्ञवालीले गरेका थिए भने साथमा प्राध्यापक डा. चूडानाथ भट्टराय, धर्मराज थापा र सत्यमोहन थिए।
व्यथितले तीन जना प्राज्ञहरूको कुरा सुनिसकेपछि सत्यमोहनलाई सोधे, ‘जोशीजी तपाईंलाई के विषयमा काम गर्न मन छ?’
त्यो बेला नेपाली भाषाको ब्युत्पत्ति थलो कर्णाली अञ्चलको जुम्लाभन्दा अझ पर सिंजा खोला उपत्यका हो भन्ने कुरा आइरहेको थियो। त्यहाँबाटै नेपाली भाषा जन्म भएको हो भन्ने कुरा आएपछि त्यसबारे राम्ररी बुझ्न पाए हुन्थ्यो भन्ने उनको मनमा खेल्न थाल्यो। सामान्य चर्चामा आएको त्यो कुराको खोजीनीति कसैले गरेका थिएनन्।
'यत्रो राष्ट्रिय भाषाका रूपमा सारा देशभर प्रचलित छ। त्यो भाषा उत्पत्ति थलोको एउटा चित्र उभ्याउने इच्छा मभित्र भयो। त्यसको खोजी गरेर विवरण ल्याउने हो भने सबैले थाहा पाउँथे,' सत्यमोहनले सेतोपाटीको आत्मकथा शृंखलामा भनेका थिए, 'त्यहाँ कस्ता मान्छे थिए, कताबाट आएका थिए, त्यो ठाउँकै इतिहास कस्तो छ, लोकसाहित्यको अवस्था कस्तो छ, जनजीवन कस्तो छ, सामाजिक–आर्थिक अवस्था कस्तो छ, यी सारा कुरा समेट्ने लोकगीतदेखि उखानहरू के कस्ता छन्, चाडबाडदेखि लिएर धर्मका यावत कुराहरु सबै खोजीका विषय हुनसक्थे।'
उनले कुलपतिसमक्ष यही प्रस्ताव राखे र भने, ‘मलाई अनुमति दिनुहुन्छ भने म त्यही सिंजा खोलातिर जान्छु र नेपाली भाषाको ब्युत्पत्ति थलो खोजी गर्छु।’
तर यो प्रस्ताव उनले सोचेजस्तो सजिलै पास भएन। सभामा उपस्थित प्राज्ञहरू उनको कुरा सुनेर गलल्ल हाँसे।
‘एक त त्यत्रो टाढाको ठाउँ छ,’ उनीहरूले भने, ‘त्यस्तो अनकन्टारमा तपाईं जाने कसरी? काम गर्ने कसरी?’
त्यति बेला विमानसमेत त्यो भेगमा जाँदैन थियो। असाध्यै अनकन्टार थियो कर्णाली। जाने-आउने नै कसरी र कति समय लाग्छ भन्ने ठेगान थिएन।
‘गइसकेपछि कहाँ के समस्या आइपर्छ त्यो समेत थाहा नहुने यस्तो विचित्रको काममा हात नहाल्नूस्,’ प्राज्ञहरूले आफूलाई दिएको सुझाव सम्झँदै सत्यमोहनले भनेका थिए, ‘बरू यतै बसेर काव्य लेख्नूस्, उपन्यास लेख्नूस् वा अरू कुनै काम गर्नूस्। केही नपाए कुनै अनुवाद गरे पनि भयो।’
'अनाहकमा दुःख पाउने काममा अगाडि नबढौं भन्ने साथीहरूको भनाइ थियो। तर मलाई चाहिँ मनमा आएको त्यो कुरा संकल्पजस्तै बसिसकेको थियो,' उनले भने।
त्यो दिनको बैठक त्यत्तिकै टुंगियो। सत्यमोहनको प्रस्तावबारे कुनै निर्णय भएन। अलिदिनपछि फेरि बैठक राखियो। बैठकमा उनकै प्रस्तावको कुरा आयो।
‘के विचार गर्नुभयो त जोशीजी?’ अरू प्राज्ञहरूले सोधे, ‘अर्को कुनै योजना तयार पार्नुभयो?’
उनले एकछिनसम्म उपस्थित सबैलाई हेरे। सबै जना उनको मुखबाट कुनै अर्को कुरा निस्कन्छ कि भनेर व्यग्रतासाथ कुरिरहेका थिए।
‘मेरो त कुरा उही हो,’ सत्यमोहनले भने, ‘पाएदेखि त्यहीँ सिंजा खोला गएर काम गर्ने हो।’
सिंजा खोला उपत्यका जाने र त्यहाँको सामाजिक, आर्थिक तथा लोक साहित्य सर्वेक्षणजस्ता काम गर्ने अठोट उनीभित्र अझ मजबुत भइसकेको थियो।
‘यिनले धेरै नै कराए,’ कुलपति व्यथितले भने, ‘जे होस् होस् अब। गरे गर्छन्, नगरे जे होला होला।’
उनको प्रस्ताव पास भयो।
'प्रस्ताव त पास भयो। अब अगाडि बढाउने कसरी? त्यो महापहाड थियो। मैले चाहेजस्तो अनुसन्धान गर्न टिम चाहिन्थ्यो। एकेडेमीमा त कोही थिएनन्। अब त्यस्तो टिम कहाँबाट ल्याउने र कसरी सबैलाई तयार पार्ने? यी चुनौतीका बाबजुद मैले हरेस खाइनँ,' सत्यमोहनले आत्मकथा शृंखलामा भनेका थिए।
एकेडेमीका मानिसहरू त्यो बेला खुब गए भने पनि दार्जिलिङ वा कालिम्पोङसम्म गएर साहित्य सम्मेलनमा भाग लिएर आउँथे। त्यसैगरी बनारस जाने, किताब छापेको के कस्तो भयो भनेर निगरानी–खोजीनीति गर्ने र आउने पनि हुन्थ्यो। तर अतिदुर्गम कर्णालीजस्तो ठाउँ अध्ययन निम्ति जाने वा त्यससम्बन्धी अनुभव बोकेका सम्बन्धित विज्ञ त कोही भएनन्।
सत्यमोहनले खोजबिन र सरसल्लाह सुरू गरे र आफ्नो टिम बनाए।
कर्णालीजस्तो दुर्गम एवं विशाल क्षेत्रमा लोक संस्कृति खोजीजस्तो व्यापक विषयलाई उनीहरूको सीमित अवधिको भ्रमणमा सम्पन्न गर्न सकिन्न थियो। उनीहरूको अध्ययन मुख्यतया हाटसिंजा गाउँमा कार्यान्वयन गरिएको एक ‘केस स्टडी’ मात्र थियो। त्यो केस स्टडीका अतिरिक्त कर्णाली अञ्चलभित्रका अन्य जिल्ला, दरा र गाउँसँग सम्बन्धित कुराहरू पनि लहराले पहरा तानेजस्तो समेटिएका थिए। त्यसैले अध्ययनमा सिंजाखोला उपत्यकालाई केन्द्रित गर्दागर्दै पनि यसले कर्णाली अञ्चलकै लोक संस्कृतिको वास्तविक चित्र समेटेको थियो।
त्यो खानीजस्तो क्षेत्रबाट लोकगीत, लोककथा, लोकनृत्य आदिको संकलन गर्दा संख्यामा भन्दा तिनीहरूमा पाइने विविधता र विशेषतामा जोड दिइयो। छानिएका लोकगीत लोककथाहरू टेप गर्नुका साथै तत्कालै लिपिबद्ध गरी सबैका टिप्पणी र पृष्ठभूमि तयार गर्ने काम पनि सम्पन्न गरिएको थियो। यसरी काम गर्दा लोकगीत, लोककथा आदिको चोखोपना कायम हुन पुगेको थियो। लोकजीवनसँग त्यसको जुन सम्बन्ध कायम भएको छ त्यसलाई जस्ताको तस्तै उतारिएको थियो।
'त्यो अध्ययन क्रममा हामी झन्डै तीन महिना अनकन्टार गाउँमा बस्यौं। त्यो बेला हिजोआजको जस्तो सञ्चार थिएन। फोन त धेरै टाढाको कुरा, चिठीपत्र पनि थिएन। न उताबाट यता केही आउने न यताबाट उता केही जाने। उतैको जुम्ली भएर बस्यो, खायो, अध्ययन गर्यो,' सत्यमोहनले भनेका थिए।
उनले अगाडि भनेका थिए, 'सिंजाखोला र वरपरको त्यो बसाइमै हामीले त्यति सानो ठाउँको पनि व्यापक फैलावट अवलोकन गरेका थियौं। त्यहाँबाट मानिस बम्बई पुगिरहेका हुन्थे। नैनीताल पुग्ने पनि उत्तिकै। उति पर कोलकाता पनि पुगेका हुन्थे। त्यसैगरी यताबाट चामल ओसार्दै उताबाट नुन ल्याउन कर्णाली तरेर भोटतिरको मानसरोवर पुग्ने जुम्ली पनि हुन्थे। अहिलेको जस्तो साल्ट ट्रेडिङको नुन त्यो बेलाको जुम्लामा कहाँबाट पाउनु?'
यी सारा कुरा उनीहरूको अध्ययनमा समेटिएका थिए।
बुद्ध खोज्दै चीन पुग्दा फेला परे अरनिको
२०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा नेपालसँग जोडिएको एउटा ठूलो सत्य सत्यमोहनसामु अनावरण भएको थियो।
बेइजिङको ‘म्याउ यिङ श’ महाविहारमा रहेको विशाल सेतो ड्यागोवा (चैत्याकार स्तुप) सहरकै महत्वपूर्ण ‘ल्यान्डमार्क’ थियो। त्यसले ओगटेको फराकिलो परिसरभित्र एउटा नपत्याउँदो कोठामा ‘चाइनिज बुद्धिस्ट एसोसिएसन’ को कार्यालय थियो। यही संस्थाको निम्तोमा भिक्षु अमृतानन्दको नेतृत्वमा सत्यमोहनसहित छ जना सदस्य चीन पुगेका थिए। भ्रमणको उद्देश्य चीनमा बौद्धधर्म प्रभावबारे अध्ययन गर्नु थियो।
त्यति बेला बेइजिङमा कुनै नेपालीले बनाएको त्यस्तो भव्य संरचना अर्थात् ड्यागोवा देख्न पाएपछि भ्रमण दलका सबै असाध्यै प्रभावित भएको सत्यमोहनले हामीसँग बताएका थिए। चिनियाँहरूले त्यो संरचना र त्यसलाई बनाउने नेपाली कलाकारबारे छापिएका पुस्तकसमेत दिएका थिए।
ती कलाकार थिए, हामीकहाँ 'बलबाहु' पनि भनिने अरनिको। चीनमा उनलाई 'आनिक' भनेर चिन्दा रहेछन्। अहिले त्यो परिसरमा अरनिकोको पूर्णकद सालिक र नेपाली भाषामै उनका बारेमा लेखिएको विवरण देख्न पाइन्छ। २०५९ सालमा अरनिको समाजको सक्रियतामा त्यो सालिक स्थापना भएको हो।
मध्यकालमै तिब्बत हुँदै बेइजिङ पुगेका अरनिको मेरै थलो ललितपुरका प्रतिभा रहेछन्,' सत्मोहनले आत्मकथा शृंखलामा भनेअनुसार अरनिको सन् १२४४ मा जन्मेका पिता लाखाँना र माता सुमाखचीका सन्तान हुन्। अरनिकोकी नेपालमा श्रीमती चयाथा थिइन्। चीनमा थप नौ विवाह गरेका थिए। तीमध्ये उतैका रजौटाकी छोरीहरू पनि थिए। ल्याइते श्रीमतीहरू पनि थिए।
तिब्बतमा ब्रह्मपुत्र नदीको दक्षिणतिर त्रोम नदी बग्छ। त्यसैको किनारमा शाक्या बस्ती छ। त्यसैको तल पर्ने शाक्या गुम्बा काठमाडौं उपत्यकाबाट सबभन्दा नजिक पर्ने महत्वपूर्ण गुम्बा थियो। नेपालका बौद्ध विहार र यो गुम्बाबीच नजिकको सम्बन्ध थियो। यो गुम्बाका संघनायक थिए पाहसपा।
तत्कालीन चीनमा कुब्लाइ खाँ असाध्यै शक्तिशाली शासक भएका बेला विद्वान पाहसपाले खुबै रिझाएका थिए। कुब्लाइ खाँले यिनै पाहसपालाई आफ्नो राजगुरू बनाई बौद्ध धर्मदर्शनको दीक्षा ग्रहण गरेका थिए। फलस्वरूप सम्राटले पछि यिनै पाहसपालाई तिब्बती क्षेत्रको धर्मानुशासक बनाएर पठाए।
यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए। उनले नै नेपालबाट सय जना पोख्त वास्तुकार तथा शिल्पकारहरूको टोली पठाइदिन नेपाल नरेशसँग अनुरोध गरेका थिए।
यसरी गएको ८० सदस्यीय टोलीका नेतृत्वकर्ता थिए, अरनिको।
अरनिकोले शाक्या गुम्बामा एउटा अग्लो मन्दिर र त्यहाँ राख्न शाक्यमुनि बुद्धको विशालकाय सूवर्ण मूर्ति बनाएका थिए। त्यसबाहेक सूवर्ण चैत्य र अनेकन बौद्ध मूर्तिहरू पनि बनाएको पाहसपाले नै सुनको अक्षरले लेख्न लगाएको ‘कंग्यूर’ र ‘तंग्यूर’ जस्ता बौद्धधर्मका ग्रन्थमा उल्लिखित छ।
कुरा यतिमा सकिएन। अरनिकोको प्रतिभाबाट प्रभावित पाहसपाले उनलाई लिएर सम्राट कुब्लाइ खाँको दरबार पुगे। बाँकी नेपाली कलाकार तिब्बतै बसे। शक्तिशाली सम्राट कुब्लाइ खाँको दरबार पुगेका अरनिकोले चीनमा रहँदा तयार पारेका सिर्जनाको ठूलै सूची छ। उनी दरबारको अत्यन्त निकट शक्तिशाली व्यक्ति भए।
'यो सब हामीलाई थाहै थिएन। हाम्रो त्यो पहिलो चीन भ्रमणभन्दा अघि नेपाली समाजमा अरनिको यसरी बेइजिङ पुगेको सन्दर्भ आमचर्चामा आएकै थिएन,' सत्यमोहनले भनेका थिए, 'अरनिकोबारे एउटा छोटो लेख पहिलो भ्रमणबाट फर्किनेबित्तिकै प्रकाशित गरेको थिएँ। नेपाल आउनासाथ प्रथम जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरेको संस्कृति तथा पुरातत्व विभागको निर्देशक नियुक्त गरेका थिए। त्यही हैसियतमा मैले लेखेका थुप्रै लेखमध्ये अरनिकोबारे पनि थियो।'
दोस्रोपटक चीन पुग्दा उनको उद्देश्य थियो, क्याम्पोसुयेन (पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्यूट) का चिनियाँ विद्यार्थीलाई नेपाली भाषा सिकाउने। त्यहाँ पुगेको केही महिना पनि भएको थिएन, एउटा नचिताएको परिस्थिति आइलाग्यो।
चीनमा अचानक माओत्सेतुङले सांस्कृतिक क्रान्ति घोषणा गरे र व्यापक धरपकड सुरू भयो। यस्तो अवस्थामा अरनिकोले बनाएको श्वेत चैत्य अवस्थित ‘म्याउ यिङ श’ परिसरको मूलढोकामै ताल्चा लगाइयो। त्यसपछि श्वेत चैत्य पुग्न असम्भव भयो। चार वर्षसम्म पेकिङमै बसे पनि अध्ययन अन्वेषणका काम अगाडि बढेन।
'मेरो छटपटीले थामिएर बस्न दिँदैन थियो। त्यसैले त्यो चैत्य रहेको फुच्छमन मार्ग भएर ओहोरदोहोर गरिरहन्थेँ र पर्खाल बाहिरैबाट भए पनि नियालेर फर्किन्थेँ। बाहिरैबाट भए पनि त्यस श्वेत चैत्यको विशाल गर्भगृह र गगनचुम्बी छत्रयुक्त त्रयोदश भुवनसहितको सुनको गजुर हेरेर चित्त बुझाउँथे। बसाइ अवधिभर कैयनपल्ट त्यसै गरेँ,' उनको भनाइ थियो।
२०३७ सालको तेस्रो चीन भ्रमण भने सत्यमोहन निम्ति अरनिको खोजीका हिसाबले असाध्यै महत्वपूर्ण बन्यो। फर्केपछि उनले त्यहाँ देखे-भोगेको आधारसमेत समेटेर अरनिकोमै केन्द्रित भएर लेखे। नेपाल भाषा परिषदबाट अरनिकोमै केन्द्रित महाकाव्य निकाले। त्यो सुरूमा नेपाल भाषामा प्रकाशन भएको थियो, पछि नेपाली र अंग्रेजीमा पनि छापियो।
अरनिकोमाथि नै ‘कलाकार अरनिको’ शोधग्रन्थका रूपमा अर्को किताब साझा प्रकाशनबाट निकाले। उक्त किताब पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमण बेला लगेका थिए।