यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा भएको छ।
यो पुरस्कार यसपालि बेलारूसका मानव अधिकार कार्यकर्ता एलेस बिआलियात्स्कीका साथै रूस र युक्रेनका मानव अधिकार संस्थालाई संयुक्त रूपमा दिइने भएको हो।
पुरस्कार पाउने रूसको 'मेमोरियल' र युक्रेनको 'सिभिल लिबर्टिज' संस्था हुन्।
सम्मानको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले भनेको छ, 'शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आ-आफ्नोमा देशमा नागरिक समाजको प्रतिनिधित्व गर्छन्। उनीहरूले नागरिकहरूको अधिकार संरक्षणका लागि वर्षौं काम गरेका छन्।'
त्यस्तै यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।
नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
एर्नोले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नोले व्यावसायिक लेखन थाल्नुअघि एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्। उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायत पुस्तक समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।
यस वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार भने स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाएका छन्। ‘लोपोन्मुख होमिनिनको जिनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि उनलाई पुरस्कार दिइएको हो।