अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो आएको छ। खोला, नदीहरूमा बाढी उर्लिएको छ भने सडकहरू पहिरोका कारण अवरूद्ध बनेका छन्।
बिहीबार बिहान १२ बजेसम्म प्राप्त जानकारीअनुसार बाढीका कारण दाङमा दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको अवस्था अज्ञात छ।
बाढी-पहिरोका कारण तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हेर्नुहोस् अहिलेसम्म वर्षाका कारण कहाँ के-के भयो?
दाङमा दुईको मृत्यु, एक बेपत्ता
दाङमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
खैरेनी खोलामा आएको बाढीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५, धमकापुरका ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगी बुधबार राति १० बजेतिर सोही वडाको खैरेनी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए।
त्यस्तै गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का ५४ वर्षीय कल्लु चौधरीको अवस्था अझै अज्ञात छ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चौधरीलाई गुर्जे खोलामा आएको बाढीले बुधबार दिउँसो बगाएको थियो। उनको खोजी जारी भए पनि हालसम्म अवस्था अज्ञात छ।
घोराहीमा पानी जमेको खाडलमा डुबेर एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ३, बेलुवाका ४५ वर्षीय धिरज घिमिरेको घरनजिकै खाडलमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक दामु पुनले सेतोपाटीलाई बताए।
पहिरोका कारण दाङ सल्यान र रोल्पा सडक खण्ड अवरूद्ध
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार अविरल वर्षापछि आएको पहिरोका कारण दाङ–रोल्पा सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको दुई खोली नजिकै झरेको पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हो। बुधबारदेखि नै पटकपटक पहिरो पन्छाए पनि वर्षा नरोकिएका कारण लगातार पहिरो झरिरहँदा सडक खोल्ने प्रयास सम्भव नभएको एसपी वलीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसी मल्लका अनुसार राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पनि अवरूद्ध भएको छ। दाङ खण्डमा झरेको पहिरो पन्छाए पनि सल्यानको कपुरकोटभन्दा उत्तरतर्फ ठाउँठाउँमा पहिरो झरेका कारण अवरूद्ध बनेको उनले बताए।
यही राजमार्गअन्तर्गत तुलसीपुर–अमेरिला सडक खण्डको भञ्ज्याङमा झरेको पहिरो पन्छाएर मध्यरातिदेखि एकतर्फी सडक खोलिएको डिएसपी मल्लले जानकारी दिए।
त्यस्तै तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटी, दाङ–रोल्पा होलेरी जोड्ने सहिद मार्गमा पनि पहिरो गएको छ।
राप्ती नदीमा बाढीले पार गर्यो खतराको तह
एसपी वीरबहादुर वलीका अनुसार राप्ती नदीमा बाढीले बिहीबार बिहानै खतराको तह पार गरिसकेको छ। खतराको घन्टी बजाई प्रहरी खटाएर जोखिमयुक्त नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको एसपी वलीले बताए।
हालसम्म राप्तीको बाढीका कारण १५ घर डुबानमा परेको र केही पशुचौपाया, कुखुरा लगायत बगेर मरेको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए।
बबई नदीमा बाढीको सतह घटेको हुँदा बिहीबार बिहानदेखि केही साम्य भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिए।
गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले गण्डक ब्यारेजका ३६ ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए।
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पुर्याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालीस हजार क्युसेक पुगेको छ।
गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो।
नारायणगढ–मुग्लिन सडकखण्डमा खस्यो पहिरो
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसेर दुईतर्फी सडक अवरूद्ध भएको हो।
सडक अवरूद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन्।
राजमार्गबाहेक सडक सम्पर्कबाट विच्छेद भयो बागलुङ
अविरल वर्षासँगै खसेको पहिराका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका छन्।
तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारी लगायत सडक अवरूद्ध भएको हो। कतिपय स्थानका सडक भासिएको छ।
मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरूद्ध छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए।
जिल्लामा सबै ग्रामीण सडक अवरूद्ध भएकाले पोखरा-बागलुङ राजमार्गबाहेक बाग्लुङ अन्य सडक सम्पर्कबाट विच्छेद भएको छ।
बेनी–जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरूद्ध
वर्षाका कारण बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरूद्ध भएका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत दर्जनभन्दा बढी सडक बाढी र पहिरोका कारण अवरूद्ध भएका सम्बन्धित स्थानीय जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ।
खहरे र ग्रामीण क्षेत्रका खोलामा पनि बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताए।
त्यसैगरी बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिर लगायतको सडकमा वर्षाले सडक अवरूद्ध बनाएको छ।
सडक अवरूद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै रोकिन बाध्य भएका छन्। बेनी–जोमसोम सडकखण्डको शाखा नदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।
बेनी–मालढुंगा–पोखरा सडक पनि बीचबीचमा अवरूद्ध भएको छ। पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेका छैनन् भने खोला बढ्नुका साथै ठाउँठाउँमा पहिरो गएको छ।
सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरूद्ध
सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरूद्ध भएको छ। बिहीबार बिहान ४ बजेतिर गल्याङ–८, झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरूद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरूद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ।
निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरूद्ध
निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरूद्ध भएको छ।
अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३, खोत्रोमा पहिरो खसेर सडक अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।
पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत् यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकलाई अहिले यात्रा नगर्नसमेत उनले आग्रह गरे।
(राससको सहयोगमा)