गोरखाको जरेबरमा निर्माणाधीन पुल फेरि बिबादमा परेको छ।
पुलको दुवैतर्फ सडक ट्याक नपुगेको भन्दै यसअघि बिबादमा तानिएको यो पुलको मुखमा सडक ट्याक पुर्याउन खोज्दा अर्को बिबाद देखा परेको हो।
गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्र र सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर फाँट जोड्न दरौंदी नदीमाथि निर्माणाधीन यो पुल गण्डकी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले बनाएको हो।
पुलको एकपट्टी भाग गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्रमा पर्ने राताढुंगा-गोलपोले सामुदायिक वन क्षेत्रमा पर्दछ।
सामुदायिक वन र जिल्ला वन कार्यालय लगायतसँग अनुमति नलिई पुलको मुखमा सडक ट्याक बनाउँदा वन क्षेत्र मासेको भन्दै नयाँ बिबाद सिर्जना भएको हो।
अनुमति नलिई करिब २५ मिटर वन क्षेत्रमा डोजर लगाइएको पाइएको गोरखास्थित वन कार्यालयको भनाइ छ। बुधबार यस क्षेत्रमा वन कार्यालयले अनुगमनसमेत गरेको थियो।
सामुदायिक वन उपभोक्ता समितिले पनि अनुमतिविना वन क्षेत्रमा डोजर नलगाउन निर्माण कम्पनी एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीलाई भनेको थियो।
यहाँ ५० मिटर लामो पुल बनाइएको छ। यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ। पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ जेठमा निर्माण सक्नुपर्ने भए पनि अझै केही काम बाँकी हुँदा बिबाद भएको हो।