राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक छिटो प्रमाणीकरणका लागि दबाब स्वरूप आन्दोलन गर्न माइतीघर पुगेका नागरिकताविहीन संघर्ष समितिका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफूसहित संघर्ष समितिका ४ जनालाई प्रहरीले सिंहदरबारस्थित प्रहरी बिटमा नियन्त्रणमा राखेको इन्द्रजित साफीले बताए। नियन्त्रणमा लिइएकामा प्रबेज आलम, एमडी राज र देव शर्मा छन्।
'हामी माइतीघर पुगेलगत्तै प्रहरीले समातेर ल्याइहाल्यो', साफीले सेतोपाटीसँग भने, 'हामी छिटोभन्दा छिटो नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकताविहीनलाई नागरिकता दिन माग गर्दै धर्नाका लागि माइतीघर पुगेका थियौं।'
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।
दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेको बताइएको छ।
त्यस्तै आजै नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रदर्शन गर्ने १५ जना जनकपुरबाट पनि पक्राउ परेका छन्। जनकपुर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।