कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ।
उनलाई मंगलबार साँझ वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
'स्वास्थ्यमा असहज भएको भनेर अस्पताल लगिएको छ। उपचार हुँदैछ,' उनले भने।
नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा उनी भदौ १२ गते पक्राउ परेका थिए। उनी १० दिनदेखि हिरासतमा छन्। परिसरमा उनीविरूद्ध चार वटा मुद्दा परेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।
यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए।
कमेडियन अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप छ। उनले यसरी व्यंग्य गर्दा नेवा समुदायका केही व्यक्तिहरूले आपत्ति जनाएपछि उनले माफी समेत मागेका थिए।
उनले आफ्नो फेसबुकमार्फत माफी मागेका थिए। तर पनि उनलाई कारबाही हुनुपर्ने माग गर्दै अभियन्ताहरूले उनीविरूद्ध जाहेरी दिएका थिए।
सुरूमा अभियन्ताहरूले नै उनलाई हिरासतमा पठाए पनि गत आइतबार भने उनलाई कारबाही गर्न पुग्यो भन्दै सहमति गरेका थिए। दुवै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए।
अभियन्ताहरूले यसको लागि क्षमापत्र समेत तयार गरेका थिए। यसरी क्षमा गरी छुटाउन माग गरेपछि उनी सोमबार नै छुट्ने अनुमान थियो। तर अझै हिरासतबाट छुटेका छैनन्।
कमेडियन अपूर्वले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।
भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध र आलोचना भयो। विरोध भएपछि कमेडी क्याफेले युट्युबबाट भिडिओ गत भदौ ११ गते नै हटाएको थियो।