९ दिनदेखि हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह सोमबार पनि छुटेका छैनन्।
कमेडियन अपूर्वविरूद्ध जाहेरी दिएका अभियन्ताहरूले नै सहमति गरी छाड्न पहल गरे पनि उनी ९ औं दिनमा पनि नछुटेका हुन्।
जाहेरी परेपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। आठ दिनपछि अभियन्ताहरूले नै उनलाई क्षमा गरेको र हिरासतबाट छाड्न पहल गर्ने भन्दै आइतबार परिसर पुगेका थिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनको फाइल नै आफ्नोमा आइनपुगेको बताए।
धेरै शीर्षकमा जाहेरी परेको र त्यसको प्रक्रिया पुर्याउन समय लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए।
‘यसमा धेरै शीर्षकमा जाहेरी परेको थियो। यसको प्रक्रिया सकिएको छैन। भोलि सकिन्छ,’ उनले भने।
अपूर्वविरूद्ध अभियन्ताहरूले विभिन्न शीर्षकमा जाहेरी दिएका थिए।
प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।
नेवा समुदायमाथि लक्षित गरी स्ट्यान्डअप कमेडी गरेपछि विवादित बनेका उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो।
सिंहलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको थियो। म्याद भोलि सकिँदैछ।
कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।
भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध भयो, आलोचना भयो। नेवा समुदायका अभियन्ताहरूले त्यसको विरोध गरे। अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि प्रहार गरेको भन्दै एउटा समूहले उनको चर्को आलोचना गर्यो।
विरोध भएपछि कमेडी क्याफेको युट्युबबाट भिडिओ शनिबार नै हटाइयो। नेवा समुदायमाथि चोट पुगेको भन्दै सिंहले माफी मागेका थिए।