कमेडियन अपूर्वक्षितिज सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमापत्र लेखेर प्रहरीलाई बुझाउने भएका छन्।
आठ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमा गरेको भन्दै पत्र तयार पारिरहेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।
‘क्षमापत्र तयार हुँदैछ। लेखिरहेका छौं। कानुनले मिल्छ भने आजै छुटाउन भनेर हामी यहीँ आएर बसेका छौं,’ उनले भने, ‘हामी तयार नै भएर आएका हौं। हाम्रोबाट सबै काम आज पूरा हुन्छ।’
सो पत्र लेखेर आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउन लागिएको हो।
कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा राखेका थिए। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।
विरोध भएपछि २४ घन्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफीसमेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि भदौ १२ गते उनी पक्राउ परेका हुन्।
उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ।
पछिल्लो समय कमेडी गरेकै आधारमा उनलाई हिरासतमा राख्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
अहिले धेरैले उनलाई छाड्नुपर्ने भन्दै माग गरेका छन्। यस्तै सामाजिक सञ्जालमा ह्यासट्याग 'आईएमसरीअपूर्वक्षितिज' भन्दै अभियान नै चलेको छ।
अभियन्ताहरूले पनि आफूहरूको योजना कसैलाई पनि यातना दिने खालको नभएको बताएका छन्।
अभियन्ता कायस्थले नेपालको कुनै पनि सभ्यतामाथि प्रहार नहोस् भन्ने हिसाबले सचेत गराउने मनसाय मात्रै भएको बताए।
‘नेपाल भित्र र बाहिरबाट कसैले पनि हाम्रो सभ्यतामाथि प्रहार नगरोस् भन्ने चाहना हो। अपूर्वले कमेडीकै नाममा जानीनजानी प्रहार गरेकोले उहाँलाई सचेत गराउने काम भएको हो,’ उनले भने,‘अरूले पनि यो विषयमा यसरी प्रहार गर्न हुँदैन भनेर बुझदियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। क्रुर तरिकाले वर्षौ सम्म थुनाउने। परिवारलाई यातना हुने हाम्रो उद्देश्य होइन।’
यस्तै यसरी नेवा सभ्यतामाथि अगाडि पनि पटकपटक प्रहार हुने गरेको र माफी दिँदै आएको उनले बताए।
‘हामीले क्षमा दियौं। सबै जना आएर थुनाउन पनि आयौं र अब क्षमा पनि दियौं भनेर क्षमापत्र तयार गर्दैछौं,’ उनले भने, ‘योभन्दा अगाडि पनि हाम्रो सभ्यतामाथि थुप्रैले प्रहार गरेको उदाहरणहरू छन्। यसअघि हामीले माफी माग्न लगाएर छाडेका थियौं।’
अपूर्वको स्ट्यान्डअप कम्डी बाहिर आएपछि समुदायका मानिसहरू आक्रोशित बनेको र त्यस अवस्थामा उनीमाथि जेजस्तो पनि हुनसक्ने अवस्था आएको कायस्थले बताए।
त्यो आक्रोशबाट पनि आफूहरूले बचाएको उनी बताउँछन्।
‘आक्रोश एकदमै बढिसकेको अवस्था थियो। अपूर्वजीलाई जे पनि त हुनसक्थ्यो नी। हामीले त बचाएको हो नी थुनाएको भन्दा पनि, व्यंग्य गरेकैभरमा थुन्न पाइन्न तर केमाथि कसरी गरेको भन्ने विषय हो,’ उनले प्रष्ट्याए, ‘हामी नेवा सभ्यताको मान्छे बचाउनुपर्छ भनेर लागि परेका हौं। आतन्ककारी, विध्वंसकारी त होइनौं। हाम्रो उद्देश्य अब आउने दिनमा कसैले प्रहार नगरोस् भन्ने हो।’
प्रहरीले सुरूमा निवेदन लिएको भएपनि यो घटना अगाडि नबढ्ने उनको भनाई छ। प्रहरीले शनिबार भनेर निवेदन नलिएपछि भीड आक्रोशित भएर थुनाउने अवस्था सम्म पुगेको उनले बताए।
‘प्रहरीले छिटो सहज तरिकाले निवेदन लिइदिएको भए त्यही दिन यो विषय टुंगिन्थ्यो। हामी बोलाउँथ्यौं। माफी माग्न लगाउँथ्यौं। तर निवेदन नलिइदिँदा भीड आक्रोशित बनेको हो,’ उनले भने।
सम्बन्धित समाचार:
कमेडियन अपूर्व क्षितिज सिंह पक्ष र अभियन्ताबीच छलफल हुँदै
अपूर्वलाई तुरून्त छोड्न लगाऊ: गायक योगेश्वर अमात्य
कमेडियन अपूर्वक्षितिज सिंहलाई कति दिन राख्ने थुनामा?
कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति
कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा
हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह
कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध प्रहरीमा जाहेरी