रोल्पामा खुकरी प्रहार गरी एक दम्पतीको विभत्स हत्या भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले हत्या गरिएका दुबै जनालाई खुकुरी प्रहार गरेको पाइएको सेतोपाटीलाई जानकारी दिए।
‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ,’ घिमिरेले भने, ‘उनका श्रीमानको टाउको, कानलगायत शरीरका विभिन्न भागमा खुकुरी हानिएको छ।’
डिएसपी घिमिरेले अहिले आफू घटनास्थलमै रहेको र हत्या गरिएका दम्पतीको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए।
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका २५ वर्षीय दुर्गाबहादुर पुन र ३७ वर्षीया पार्वती पुनको शव बुधबार दिउँसो फेला परेको थियो।
उनीहरू माडी गाँउपालिका वडा नं. ३ तालाबाङमा स्थानीय जयलाल डाँगीको जग्गामा रहेको खुल्ला टहरोमा बस्दै आएका थिए।
‘कुखुरा पाल्न बनाइने खुल्ला टहरो जस्तैमा उनीहरू बस्दै आएका रहेछन्,’ डिएसपी घिमिरेले भने, ‘ दुबै जनाको शव त्यही टहरोभित्र विभत्स हत्या गरिएको अवस्थामा फेला परेको हो।’
टहरो एकान्त ठाउँमा थियो उनीहरू त्यहाँ मजदुरी गर्थे। प्रहरीको अनुसन्धानमा पार्वतीको घर खोटाङ भएको खुलेको छ। उनको परिचय खुल्ने कागजात नभेटिए पनि सबैले उनलाई पार्वती भनेर बोलाउँथे।
सुतिरहेका उनीहरूको मंगलबार राति नै कसैले हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ।
घटनाबारे स्थानीयले सूचना दिएलगत्तै डिएसपी घिमिरेले आफैं घटनास्थल पुगेका थिए।
प्रहरीका अनुसार पुन दम्पतीले विवाह गरेको धेरै समय भएको थिएन। दुर्गाले श्रीमतीलाई घरमा समेत नभित्र्याएको भन्ने खुलेको एक प्रहरी अधिकारीले बताए।
रोल्पा आउनुअघि उनीहरू काठमाडौंको एक इँटा भट्टामा काम गर्थें। त्यहीँ काम गर्दागर्दै प्रेममा परेपछि उनीहरू विवाह गरेर रोल्पा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी घिमिरेले बताए।