भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखिनै खुलेपनि सधैको वर्षमा झै यसपालि भीड छैन।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ। यद्यपि सधैको वर्षमा झै यसपालि पशुपतिमा भक्तजनको लाइन छैन। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको सानो समूह पशुपति क्षेत्रमा देखिन्छ।
मूल मन्दिर प्राङ्गणमा मात्र ब्रतालु लाममा बसेका छन्। बाहिरी क्षेत्रमा भीडभाड छैन। पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ। कोषले यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ ।
कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ ।
पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तिजमा पहिलोपटक खुला गरिएको हो । पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन।
वर्तालु जुन ढोकाबाट भित्र प्रवेश गर्छन् त्यसै ढोकाबाट बाहिर निस्कने गरेका छन् । तिजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ।
दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरी पारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ।
पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ।
हेर्नुहोस् तस्बिरहरू
हेर्नुहोस् पशुपति मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाहरू।