साधारणतय डेंगी भाइरस ग्रसित पोथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण नै डेंगी हो।
डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ।
सुरूको दिनमा १०३, १०४ डिग्री ज्वरो आउँछ। कसैलाई यो भन्दा बढी पनि आउन सक्छ। ‘मैले त फ्लेक्जन खाएँ, सिटामोल खाएँ तर ज्वरो घट्दै घटेन’ भनेर बिरामी आएका हुन्छन्। पहिलो र दोस्रो दिन पनि बढ्ने अनि तेस्रो र चौथो दिनमा धेरैलाई ज्वरो घटेको देखिन्छ।
डेंगीको ज्वरो २-३ दिन आउने र घट्ने अनि फेरि आउने हुन्छ। यस्तो लक्षण केहीलाई मात्र देखिन्छ। कतिलाई ज्वरोसँगै टाउको दुख्ने हुन्छ। कतिले त टाउकोमा हिर्काए जस्तो गरी टनटनी दुख्यो भन्छन्।
यस्तो बेलामा शरीरमा रातो खालको ह्रास आउँछ। रातो भागमा थिच्यो भने सेतो बस्ने र केहीबेरमा रातो भएर जान्छ।
बिरामीले हात खुट्टा तातो भयो भन्छन्। वान्ता हुने, खाना नरुरूच्ने हुन्छ। तर सबैलाई उस्तै लक्षण देखिन्छ भन्ने छैन।
अधिकांशलाई खोकी लाग्दैन केहीलाई मात्र हुन्छ। धेरैलाई पखला लाग्छ।
पेट दुख्ने, छाम्दा दुःखाई अझै बढ्ने, वान्ता भइरहने र नाकबाट ब्लीडिङ हुने अनि पिसावमा रगत देखिए तत्काल अस्पताल जानुपर्छ। चिकित्सक्ले परिक्षणको आधारमा उपचार गर्नुपर्छ।
डेंगी भाइरसको स्वरूप अनुसार त्यसले कति असर पार्छ भन्ने छुट्ट्याउन सकिन्छ। एक पटक डेंगी भएकाले अझै होसियारी अपनाउनुपर्छ।
डेंगी ज्वरो आयो भने उपचारमै जानुपर्छ। रगतको परिक्षणबाट डेंगी भए नभएको थाहा पाउन सकिन्छ। डेंगी ज्वरो ४ दिनदेखि ७ दिनसम्म आउँछ।
सुरूमा डेंगी भाइरस तराईमा देखिएको थियो। तर पछिल्लो समय काठमाडौंमा देखिन थालेको छ। तापक्रम बढेको कारणले यस्तो भएको हो। सामान्यतः जुलाई र अगष्टमा डेंगी धेरै देखिन्छ।
वर्षाको अन्त्यतिर विभिन्न ठाउँमा जमेको पानीमा यस्तो लामखुट्टे देखिन्छ। त्यसैले यस्ता ठाँउबाट पानी हटाउनुपर्छ। डेंगी सार्ने लामखुट्टे धेरै मात्रामा बिहान र दिउँसो सक्रिय हुन्छन्। यद्धपि यसले हिजोआज राति पनि टोक्न सक्छ।
हाम्रो शरीरबाट निस्किने तातो र कार्वन डाइअक्साइडको कारण लामखुट्टेले राति टोक्न सक्ने हो।
डेंगीबाट कसरी बच्ने, यसको उपचार लगायतका विषयमा अल्का अस्पताल, जावलाखेल, एभरेष्ट अस्पताल नयाँ बानेश्वर र ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यररत कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेलसँग सेतोपाटीका लागि सन्जिब बगालेले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।