सल्यानमा लेनदेनको विषयलाई लिएर भाइ-बुहारीसहित तीन जनामाथि एसिड प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
दार्मा गाउँपालिका वडा नं. ३ चम्फुटाकुराका ५० वर्षीय बेचे रावतले मदिरा सेवन गरी सोमबार बेलुका साढे ७ बजेतिर सहोदर भाइ ४९ वर्षीय भीमबहादुर रावत, उनकी ४० वर्षीया दीपा रावतलाई लक्षित गरी पसलमा एसिड प्रहार गरेका थिए। त्यही क्रममा सोही पसलको ढोकामा उभिएका स्थानीय ३२ वर्षीय भीमबहादुर रावतको शरीरमा पनि एसिड परेको थियो।
लेनदेनको विषयलाई लिएर बाँकेमा रहेको एभरेष्ट लिसा कम्पनीले खोटो संकलन गर्न भनेर बेचे रावतलाई घरमा राख्न दिएको एसिड ल्याई आफ्नै पसलमा भाइ-बुहारीलाई एसिड प्रहार गरेको कुरा खुल्न आएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले सेतोपाटीलाई बताए।
घटनाबारे राति नौ बजेतिर स्थानीय नरेश रावतले ईलाका प्रहरी कार्यालय दार्मालाई सूचना दिएका थिए।
त्यसपछि प्रहरी नायब निरीक्षक शेरबहादुर चन्दको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले एसिड छ्याप्ने बेचे रावतलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले बेचेसँगै उनको घरबाट झन्डै २२ लिटर एसिड समेत बरामद गरेको डिएसपी खड्काले बताए।
घाइते तीनै जनाको अनुहारलगायत शरीरको विभिन्न भागमा एसिडले पोलेर घाउ खत रहेको खड्काले जानकारी दिए।
घाइते सबैको जिल्लाकै श्रीनगरमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै बाँके नेपालगंजस्थित नर्सिङ होम लगिएको थियो। त्यहाँबाट पनि थप उपचारका लागि मंगलबार काठमाडौंस्थित कीर्तिपुर सामुदायिक अस्पतालका लागि रिफर गरिएको जानकारी आफन्तले दिएको डिएसपी खड्काले जानकारी दिए।
प्रहरीले पक्राउ परेका बेचे रावतलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दा चलाएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट घटना अनुसन्धानका लागि ७ म्याद थप भएको डिएसपी खड्काले बताए।